कलैया,बाराको प्रसौनी गाउँपालिकामा ७ वर्ष बित्दा पनि पुल निर्माण नभएपछि स्थानीय जोखिमपूर्ण सडक प्रयोग गरेर यात्रा गर्न बाध्य भएकाछन् । गाउँपालिकाबाट जिल्ला सदरमुकाम कलैयासँग जोड्ने उद्देश्यले ७ वर्ष अगाडि बञ्जरियस्थति बङ्गरी खोलामा पुल निर्माणको काम सुरु गरिएको भएपनि हालसम्म पनि निर्माण कार्य पुरा नहुँदा स्थानीय जोखिमपूर्ण बाटो प्रयोग गरेर यात्रा गर्न बाध्य भएका हुन् ।
पुल निर्माण नहुँदा स्थानीयले खोला बाँसको पुल बनाएर जोखिमपूर्ण यात्रा गर्दै आएका छन । सडक हुदै चल्ने ठुला सवारीसाधनलाई खोला हुँदै चलाउनु पर्ने अवस्था रहेको स्थानीय सुनिल लामिछानेले बताउनुहु्न्छ । लामिछानेका अनुसार सडकमा पुल नहुदा बर्षायाममा आवतजावत गर्न नसकेर गाउँको सदरमुकाम कलैयासँग हप्तौंसम्म सम्पर्क विच्छेद हुने गरेको छ ।
पुल निर्माण गर्ने जिम्मा लिएको एलाइट मोना कन्स्ट्रक्सनको लापरबाहीका कारण सम्झौता अवधि पुरा भइसक्दा पनि सम्पन्न नभएको स्थानीयहरुको गुनासो छ । सडक डिभिजन कार्यालय हेटौडासंग कन्स्ट्रक्सनले २०७१ सालमा पाँच करोडको लागतमा २ वर्षभित्र पुल निर्माण गर्न गरी सम्झौता गरेको थियो । तर ७ वर्ष बितिसक्दा पनि कन्स्ट्रक्सनले २ प्रतिशत काममात्र गरेको स्थानीय बताउँछन् । स्थानीयले पुल निर्माणको काम पुनः सुचारु गर्न पालिका र सरोकारवालाको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ भएको छैन । पुल आभावमा बञ्जरिय, इनर्वा, सुराही, मेथुरापुर, मटियरिया, बसडिलवा, प्रस्टोका, बलुवा लगायत गाउँका स्थानीयले सास्ती भोग्नु परेको लामिछानेको भनाइ छ ।