सिमरा,मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको तीन वर्ष पूरा हुँदा नेपाल आयल निगमले सो आयोजनाबाट पाँच अर्ब बचत गरेको छ ।

पाइपलाइन सञ्चालनमा आएको तीन वर्ष पूरा भएको अवसरमा अमलेखगंजस्थित आयल निगमको प्रादेशिक कार्यालयमा आयोजित कार्यक्रममा पाइपलाइन अत्यन्तै सफल भएको बताइएको छ ।
दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना अन्तर्गत मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइन २०७६ भदौ २४ गते देखि सञ्चालनमा आएको थियो । पाइपलाइनको उद्घाटन नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एकसाथ नेपाल र भारतबाट बटम थिचेर गर्नुभएको थियो । पाइपलाइनको तीन वर्ष सफल भएको अवसरमा आयोजित कार्यक्रममा प्रादेशिक कार्यालयका प्रमुख प्रदिप यादवले सोचे अनुसार नैं पाइपलाइन सफल देखिएको बताउनुयो ।
पाइपलाइनबाट इन्धनबाट आउदा सुरक्षित हुने, चुहावट र अवरोध नहुने हुँदा पाइपलाइन अत्यन्तै सफल भएको यादवको भनाइ छ । यादवले पछिल्लो तीन वर्षमा मात्रै पाँच अर्ब बचत भएको कार्यक्रममा जानकारी दिनुभयो । ट्यांकरबाट इन्धन आयात गर्दा बाटोमै चुहावट हुने, सवारी दुर्घटना हुने, सडक अवरोधका कारण नियमित ढुवानीमा कठिनाइ हुने जस्ता समस्या निगमले भोग्दै आएको थियो ।


















