दिपेन्द्र जैसवाल
गन्जभवानीपुर,बाराको पचरौत नगरपालिकामा बसन्त जोशीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा बुधवार एक कार्यक्रमबीच स्वागत गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत जोशीले बुधवार नै कार्यालयमा पदवाहाली पनि गर्नुभएको छ ।नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख जलन्धर सिंह, वडा अध्यक्षहरू बनारसी मुखिया बिन, मकबूल मियाँ अंसारी, पालिका प्रवक्ता तथा वडा अध्यक्ष लक्ष्मी यादव, शिक्षा सहायक मुकेशकुमार सिंह, प्रशासन शाखा प्रमुख गौरी साह तथा नगरपालिकाका कर्मचारीहरूले स्वागत गरेसंगै उहाँले कार्यालयमा पदवहाली गर्नुभएको हो ।
यसअघि कार्यालयमा शिक्षा अधिकृतको रूपमा कार्यरत जोशीलाई प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र परियारको सरुवापछि उक्त पदको जिम्मेवारी प्रदान गरिएको थियो ।पदवहाली कार्यक्रममा बोल्दै नगर प्रमुख सिंहले नगरको समृद्धि र विकासमा प्रमुख प्रशासकीय अधिकृतको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो । उहाँले जोशीलाई इमानदारिता, पारदर्शिता र समन्वयकासाथ अगाडि बढ्न समेत आग्रह गर्नुभयो।पदवहालीपछि प्रमुख प्रशासकीय अधिकृत जोशीले आफू नीति, नियम र कानुनअनुसारको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको जनाउनुभयो। साथै, उहाँले सबैसँग समन्वय र सहकार्य गर्दै नगरपालिकाको समुचित विकासका लागि क्रियाशील रहने आश्वासन पनि दिनुभयो।

















