कलैया,नेकपा एमालेले बाराको कलैया उपमहानगरपालिकाको प्रमुख पदमा बिनोद साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेकपा एमालेको केन्द्रीय सचिवालय कमिटीको बैठकले ९ वटा उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउने क्रममा कलैयाबाट साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कलैया उपमहानगरपालिकाको प्रमुख पदका लागि नेकपा एमालेले रविनदास श्रेष्ठ, कलामुद्धिन अंसारी र भवानी दुलालको नाम सिफारिस भएको थियो । सिफारिस भएका मध्ये बलियो उम्मेदवारको रुपमा चर्चा पाएका साहको पक्षमा एमालेले निर्णय गरेको हो ।
कलैयाको प्रमुख पद टुंगाएको एमालेले उपप्रमुख पदमा भने निर्णय गरेको छैन । उपप्रमुख पदका लागि चार जनाको नाम सिफारिस भएको छ । उपप्रमुख पद पछि टुंगो लगाउँने गरी प्रमुख पदको निर्णय गरिएको हो ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि साहलाई एमालेले उम्मेदवार बनाएको थियो । उक्त निर्वाचनमा नेपाली कांग्रेससँग कम मतान्तरले पराजित हुनु भएका साहलाई एमालेले पुनः दोस्रो अवसर दिएको हो । अघिल्लो निर्वाचनमा साह नेपाली कांग्रेशका उम्मेदवार राजेश राय यादवसंग १८७ मतान्तरमा पराजित बन्नुभएको थियो । गठबन्धको तर्फबाट कलैयाको मेयर पदमा कांग्रेशबाट राजेश राय यादबले नै टिकट पाउनुभएको छ ।
२०७४ सालको निर्वाचनमा १० हजार सात सय १६ मत प्राप्त गर्नुभएका साहलाई कांग्रेशका साहले १० हजार ९ सय तीन मत ल्याएर पराजित गर्नुभएको थियो । साह नेकपा एमाले बाराका अध्यक्ष समेत हुनुहुन्छ भने प्रतिद्धन्दी यादव नेपाली कांग्रेश बारा जिल्ला सभापती हुनुहुन्छ । तर मेयर पदमा निर्वाचित बनेपछि यादव विवादमा पर्दै आउनुभएको छ । कोरोना भाइरस संक्रमणको बेला प्रभावितलाई कुहिएको दाल वितरण गरेपछि यादवको चौतर्फी आलोचना हुदै आएको छ । यही मुद्दामा यादवलाई प्रहरीले नियन्त्रणमा पनि लिएको थियो ।
नेकपा एमालेका अध्यक्ष साह र कांग्रेश सभापती यादबबीच यसपटक पनि कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।