रौतहट,रौतहटमा धान थुपारेर राखेको कुन्यु (भारी) मा आगजनी गरिएको छ । जिल्लाको गढीमाई नगरपालिका ३ गम्हरिया निवासी शेख ग्यासुदिनको ४ बिगाहा क्षेत्रफलको खेतबाट काटेर एकै ठाउँमा थुपारेर राखिएको धानमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरेको हो । दाइँ गर्ने तयारीमा राखिएको धानमा आगजनी भएपछि लाखौ रुपैया बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरुणकुमार सिंहले आगजनीको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भैरहेको बताउनुभयो । राजनीतिक प्रतिशोधका कारण शेख ग्यासुदिनको धानमा आगजनी भएको स्थानीय राजनीतिक दलका नेता र स्थानीयवासीले आशंका गरेका छन ।
गत ४ गतेको सम्पन्न आम निर्वाचनमा जनता समाजवादी पार्टीलाई सघाएका कारण शेखको धानमा आगजनी भएको हुनसक्ने आशंका गरिएको जसपा मधेस प्रदेश कमिटी सदस्य राजकुमार दासले बताउनुभयो । राजनीतिक पूर्वाग्रहका कारण अन्नमा गरिएको आगजनीको घटनाबारे सत्यतथ्य पत्ता लगाई दोषिलाई कारबाहीको दायरामा ल्याउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन दासले सम्बन्धित निकाय समक्ष माग समेत गर्नुभएको छ ।
यसअघि गत १२ गते राति रौतहटकै फतुवा विजजयपुर नगरपालिकाका स्थायी बासिन्दा अवकाश प्राप्त सई रामानन्द यादवको धानमा पनि अज्ञात समहले आगजनी गरेको थियो । नेपाल प्रहरीका पूर्वसई यादव रौतहट ३ बाट प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार प्रभु साह जिताऔं अभियानमा लाग्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी वीरबहादुर ठाडामगरले दुबै घटना राजनीतिक पूर्वाग्रहकै कारण भएको भन्ने एकिन नभए पनि घटनाको गहन रुपमा अनुसन्धान भैरहेकाले बताउनुभयो ।
फोटो पनि छ ।
सुर्य नेपालद्वारा उपमहानगरपालिकाकालाई बर्थिङ सेन्टर भवन हस्तान्तरण
सिमरा,
सुर्य नेपाल प्रा.लि.ले आफ्नो लागतमा निर्माण गरेको बर्थिङ सेन्टर भवन शुक्रवार जीतपुरसिमरा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
करिब ६२ लाखको लागतमा निर्माण भएको पाँचकोठे भवन एक कार्यक्रमका बीच उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको हो । उद्योगका व्यवस्थापक सुरेश काजी श्रेष्ठले भवनको चाबी नगर प्रमुख राजन पौडेललाई हस्तान्तरण गर्नुभएको हो । नगर प्रमुख पौडेलले वडाध्यक्ष सुनिल गुप्ता र वडाध्यक्ष गुप्ताले बर्थिङ सेन्टरका प्रमुख प्रविण झालाई चाबी हस्तान्तरण गर्नुभएको थियो ।
सुर्य नेपालले हस्तान्तरण गरेसंगै नवनिर्मित भवनको स्वामित्व उपमहानगरपालिकाले प्राप्त गरेको छ । गत असार ७ गते शिलान्यास गरिएको भवन पाँच महिनामा निर्माण सम्पन्न भएको हो । जीतपुरमा रहेको बर्थिङ सेन्टर भवन जिर्ण भएपछि सुर्य नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत भवन निर्माण गरेको हो ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष संजय साहको नेतृत्वमा रहेको कार्यसमितिले भवन निर्माणका लागि सुर्य नेपालसंग पहल गरेको थियो । भवन हस्तान्तरण कार्यक्रममा नगर प्रमुख पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल, वडाध्यक्ष गुप्ता, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, निवर्तमान अध्यक्ष साह, उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रवि भाष्कर, सुर्य नेपालका मानव तथा संसाधन विभागका सरविन श्रेष्ठ, सुरक्षा प्रमुख यज्ञबहादुर आलेलगायतको उपस्थिति रहेको थियो ।