निजगढ,निजगढ नगरपालिका– ८ वडा कार्यालयले बिहीवारबाट आफ्नै नयाँ भवनबाट सेवा शुरु गरेको छ ।
निजगढ बजारको गुम्बा टोलमा नवनिर्मित भवनको बिहीवार बागमती प्रदेश सरकार अन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री कुन्दनराज काफ्लेले उद्घाटन गरेपछि कार्यालयले आफ्नै भवनबाट सेवा उपलब्ध गराउन थालेको हो ।
मन्त्री काफ्लेले ताम्रपत्र अनावरण गरेर भवन उद्घाटन गर्नुभएको थियो ।उद्धाटन कार्यक्रममा बोल्दै मन्त्री काफ्लेले विकास निर्माण र जनताको हितको लागि काम गर्न प्रदेश र पालिकको सीमानाले नछेक्ने बताउनुभयो । उहाँले बागमती र मधेस प्रदेश छिमेकी पनि प्रदेश भएकोले २ प्रदेशबीच विकास निर्माण कार्यमा सहकार्य जरुरी भएको बताउनुभयो । ‘दुई प्रदेशबीच आपसी सम्बन्ध प्रगाढ पार्न र आपसी सहकार्यमा विकास निर्माणका काम संचालन गर्न बागमती प्रदेश सरकार तयार छ, उहाँले भन्नुभयो, मकवानपुरको बकैया र बागमती गाउँपालिका र निजगढ नगरपालिका जोड्ने सडक निर्माण र पर्यटकीय गन्तव्यहरुको खोजीमा दुई प्रदेशले सहकार्य गर्नसक्नेछन ।’
मन्त्री काफ्लेले केही कमिकमजोरीका बाबजुद अहिलेको राजनीतिक प्रणाली उत्कृष्ट व्यवस्था भएको पनि दाबी गर्नुभयो । देशमा देखिएका समस्या हल गरेर जनताको आकांक्षा पूरा गर्नुपर्नेमा उहाँल्ले जोड दिनुभयो ।भवन उद्घाटन समारोहमा निजगढ नगरपालिकाका पूर्वनगर प्रमुख सुरेश खनाल, नेपाली कांग्रेश महासमिति सदस्य प्रतिनिधि पेमासिद्धी लामा, नेकपा माओवादीका रविराज दङ्गाल, गौरीशंकर मावि निजगढ ८ का प्रधानाध्यापक बद्रीनारायण झालगायतले बोल्नुभएको थियो ।कार्यक्रममा भवन निर्माण र सोको लागि जग्गा संरक्षण कार्यमा योगदान पु्याएबापत निजगढ गाविसका तत्कालिन वडा अध्यक्ष चन्द्र सिं लामालगायतलाई सम्मान गरिएको थियो । मन्त्री काफ्लेले कदर पत्रबाट उनीहरुको सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्याल, लेखा प्रमुख शिवप्रसाद देवकोटा, निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका अगुवाहरू, सरकारी कर्मचारी, सर्वसाधारणहरूको उपस्थिति रहेको थियो ।वडा अध्यक्ष स्वर्ण लामाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य मनमाया तामाङ र स्वागत वडा सदस्य शालिकराम ढुंगानाले गरेका थिए ।
४ कोठाको सुविधा सम्पन्न सो भवन करिब ५३ लाखको लागतमा निमार्ण भएको हो । भवन उद्धाटनसंगै कार्यालयबाट सेवा शुरु गरिएको वडा अध्यक्ष लामाले जानकारी दिनुभयो । भवन अभावमा यसअघि वडा कार्यालयले भाँडाको घरबाट सेवा प्रदान गर्दैआएको थियो ।


















