निजगढ,नगरपालिकाले निजगढ नगरपालिका वडा नम्बर ८ स्थित बकैयाखोला ड्याम छेउमा निर्माण गर्न लागेको पोखरी डिभिजन वन कार्यालय बाराले रोकेको छ । बकैया नागमणी सामुदायिक वन उपभोक्ता समुहको वनमा पर्ने उक्त क्षेत्रमा वन कार्यालय र उपभोक्ता समुहको सहमति बिना नै निजगढ नगरपालिकाले पोखरी खन्न थालेपछि निर्माण कार्य रोक्न लगाइएको डिभिजन वन कार्यालय बाराले जनाएको छ । सहमति बिना पोखरी खन्न थालेको जानकारी पाएसंगै वन समुहका अध्यक्ष रविराज दंगालसहितका पदाधिकारी, वन कर्मचारीहरुको टोली पुगेर निर्माण कार्य रोकेका हुन ।
चार दिनअघि राति करिब ९ बजे पनि सोही स्थानमा पोखरी खन्ने प्रयास भएको र स्थानीयहरुले विरोध गरेपछि निर्माण कार्यमा प्रयोग भएको एक्साभेटर भगाइएको स्थानीयले बताएका छन ।
राष्ट्रपति चुरे संरक्षण विकास कार्यक्रम अन्तरगत उक्त क्षेत्रमा अघिल्लो वर्ष पनि अनुमति बेगर पोखरी निर्माण गर्ने प्रयास भएको थियो । तर स्थानीयको विरोधका कारण पोखरी निर्माण कार्य गत वर्ष पनि रोकिएको थियो । गतवर्षको असार १७ गते वन कार्यालयको अनुमति नलिइ पोखरी खनेको सूचना पाएसंगै सो एस्काभेटर चालक सहित दुई जनालाई वन कार्यालयले नियन्त्रणमा समेत लिएको थियो । वस्ति नजिकै पोखरी खन्दा बालवालिकाहरुको डुबेर ज्यानै जानेसम्मको घटना हुन सक्ने भन्दै स्थानीयले पनि विरोध गर्दै आएका थिए । यस वर्ष भने निजगढ नगरपालिकाको सहयोगमा पोखरी खन्न लागिएको थियो । पोखरी खन्न र गारो उठाउनसमेत गरी कार्यालयबाट १० लाख रुपैया विनियोजन भएको निजगढ नगरपालिकाले जनाएको छ ।
२२ घर,टहरा नष्ट
कोल्हबी,डिभिजन वन कार्यालय बाराले वन क्षेत्रमा अतिक्रमण गरि बनाइएका २२ वटा घर टहरा शुक्रवार आगो लगाएर र भत्काएर नष्ट पारेको छ । कोहल्वी नगरपालिका वडा नम्बर ५ स्थित रामवनमा १० हेक्टर भन्दा बढी वन क्षेत्र अतिक्रमण गरि बनाइएका घर टहराहरुमा आगो लगाएर र भत्काएर वन क्षेत्र खाली गराइएको हो ।
सो क्षेत्रमा सुरुमा ५÷७ टहरा रहे पनि लकडाउनको मौका छोप्दै बढेका घर टहरा हटाएर वन क्षेत्र खाली गराइएको डिभिजन वन कार्यालय बाराका प्रमुख एंव डिएफओ मन्जुर अहमदले बताउनुभयो । अतिक्रमण हटाउने कार्यमा मधुवन सव डिभिजन कार्यालय प्रमुख एंव सहायक वन अधिकृत ललन राउतको नेतृत्वमा सशस्त्र वन रक्षक, वन रक्षक, वन कर्मचारी सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीकोसमेत सहयोगमा अतिक्रमण हटाइएको हो । अतिक्रमण हटाएर खाली गरिएको सो वन क्षेत्रमा तारवार गरि वृक्षारोपण गर्ने योजना रहेको वन अधिकृत अहमदले बताउनुभयो ।