पुष्पराज खतिवडा
मनहर्वा,एक सातासम्म फोहर नउठाएको भन्दै स्थानीयले जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयको मुल द्वारमा नै फोहोर फालेर बिरोध शुरु गरेका छन् ।आइतवार बिरोध स्वरुप वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताको नेतृत्वमा स्थानीयले नगर कार्यपालिका कार्यालयको मुल द्धारमै फोहोर फालेका हुन् ।जीतपुरसिमराले केही दिनदेखि वीरगञ्जको एकिकृत फोहोर व्यवस्थापन केन्द्रसंगको सम्झौतामा फोहोर व्यवस्थापन गर्दै आएको थियो । केन्द्रले आन्तरिक मर्मतको कारण देखाउँदै फोहोर केही दिन नल्याइदिन आग्रह गरेपछि जीतपुरसिमरामा केही दिनदेखि फोहोर उठाउन बन्द भएको थियो ।फोहोर उठाउन छाडेपछि जीतपुर र सिमरा बजारको सडकछेउ फोहोरले दुर्गन्धित बनेको छ । स्थानीयले सामाजिक संञ्जालमासमेत नगरपालिकाको चर्को आलोचना गर्न थालेका छन् । सो सम्बन्धमा फोहोर व्यवस्थापनको सम्झौता गरेको वीरगञ्जका नगर प्रमुख राजेशमान सिंहले जीतपुरसिमराको फोहोर नउठेको बारे आफुलाई जानकारी नभएको बताउनुभएको छ ।‘फोहोर नउठेको कुरा समन्वय भएन, म तुरुन्तै ठेकेदारलाई कार्यालयमा बोलाउँछु, उहाँले भन्नुभयो, ‘उठेको छैन भने भोलिबाट अनिवार्य उठ्छ ।’यता जीतपुरसिमराका नगर प्रमुख राजन पौडेलले फोहोर संकलन केन्द्रले मर्मम भइरहेको भन्दै केही दिन फोहोर होल्ड गरिदिन आग्रह गरेकोले समस्या भएको बताउनुभयो । उहाँले फोहोरको दीर्घकालिन समाधान नखोजेसम्म यो समस्या नगरले झेलिरहनु पर्ने भन्दै नगरमै फोहोर व्यवस्थापनको विकल्प खोल्न सवैको सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।वडा नम्बर ७ का स्थानीयले नगर कार्यपालिकाको कार्यालयअगाडि फालेको फोहोर भने हटाइएको छ । जीतपुर र सिमरा बजारको सडक किनाराको फोहोर भने अहिले पनि उस्तै अवस्थामा छ ।