काठमाडौं , नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन कुनै पनि बेला फुट्न सक्ने बताउनुभएको छ । मंगलबार विराटनगर विमानस्थलमा ओलीले गठबन्धन खरानीको डल्लो भएकाले कुनै पनि बेला फुट्न सक्ने बताउनुभएको हो । उहाँले आफूहरू सत्ताको खेलमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले कांग्रेसले मुलुकको राष्ट्रियता र अर्थतन्त्रप्रति चिन्ता नलिएको गुनासो गर्दै सत्तामा पुग्ने र टिकाउने खेलमा लागेको आरोप लगाउनुभयो । मुलुकमा निराशा र अराजकता बढ्दा पनि चुप लागेर बसेको जिकिर गर्नुभयो । त्यस्तै, उहाँले सुशासन दिएको दाबी गर्ने सरकारले आफैँले बनाएको आयोगले दोषी देखाएका मन्त्रीले राजीनामा दिएर नैतिकता देखाउनु पर्ने धारणा राख्नुभयो । सत्य निरुपण तथा मेलमिलाप विधेयक छिटो पास गर्नुपर्ने बताउँदै पीडितको पक्षमा आएको विधेयकको कसैले विरोध नगर्ने जिकिर गर्नुभयो । अध्यक्ष ओलीले एमाले हाल ‘मिसन– ८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताउनुभएको छ । ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमालेअघि बढेको उहाँको भनाई थियो ।

Leave a Reply