सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकास्थित बालगंगा खोलामा जिल्ला प्रशासन कार्यालय बाराले अनुगमन गरी उत्खनन बन्द गराएको छ । तोकिएको परिणाम र मापदण्डविपरीत उत्खनन भएको पाइएको भन्दै जिल्ला प्रशासन कार्यालयले मंगलबारबाट खोलामा उत्खनन बन्द गराएको हो । इलाका प्रशासन कार्यालय, सिमराका प्रमुख लक्ष्मण ढकालको नेतृत्वमा अनुगमन गरिएको थियो । अनुगमनपश्चात् मापदण्डविपरीत उत्खनन भएको पाइएपछि मंगलबारबाट रोक लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो । जितपुर–सिमरा उपमहानगरपालिकालाई बढी उत्खनन गरेको र कानुनविपरीत भएको कामका लागि कारबाही गर्न भनेको पौडेलले जानकारी दिनुभयो । ढकालका अनुसार बालगंगा खोलामा तोकिएको परिमाणभन्दा बढी उत्खनन गरेको पाइएको, नगरले ठेक्का लगाएको तीनवटै खोलामा सम्झौतामा एक मिटर गहिराइ बनाइ उत्खनन गर्न पाउने भनिए पनि चार मिटर गहिराइसम्म उत्खनन भएको र खोलाका किनारबाट दुवैतर्फ छोड्नुपर्ने भागसमेत उत्खनन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । सोही प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय बाराले जीतपुरसिमरा उपमहानगरले ठेक्का लगाएका तीनवटै खोलामा रोक लगाएको हो । खोलाको सतहबाट बढीमा तीन फिटसम्म गहिराइ बनाएर गिटी, बालुवा निकाल्न मिल्ने वातावरणीय प्रारम्भिक परीक्षणले जनाएको छ । ठेकेदारले एक्साभेटरको प्रयोग गरी २० फिटसम्मको गहिराइबाट गिटी–बालुवा निकालेर कानुनको धज्जी उडाउँदासमेत नियमन गर्ने निकाय मौन बसेपछि जिल्ला प्रशासन कार्यालय, बाराले अनुगमन गरी रोक लगाउने निर्णय गरेको हो ।

Leave a Reply