कृष्णउदास खनाल
वीरगन्ज,कोरोना संक्रमणका कारण वीरगन्ज मात्रै नभइ सबै पर्सा जिल्ला नै अहिले आक्रान्त छ । कोरोना नियन्त्रणका लागि पर्सा जिल्लामा स्थानीय प्रशासनले जिल्लाभर निषेधज्ञा लगाएको पनि छ । स्थानीय प्रशासनले निषेधाज्ञाको समय बढाएर जेठ ३० गतेसम्म पुर्याएको छ । तर यही समयमा सत्तारुढ दल नेकपा एमालेका केही नेता निषेधाज्ञाको उल्लंघन गर्दै चुनावी प्रचारमा लागेको आरोप छ भने मधेशवादी दल जसपाको उपेन्द्र यादव पक्षले पनि सरकारको बिरोधको नाउमा सडकमा प्रदर्शन गरेको आरोप खेप्न बाध्य छ ।
सत्तारुढ एमालेका नेता राजकुमार गुप्ताले जिल्लाको ग्रामीण भेगमा चुनावको तयारी भन्दै कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम गर्दै हिडे पनि प्रहरी प्रशासन मुकदर्शक बनेको भन्दै जिल्लामा आलोचना भइरहेको छ । निषेधाज्ञा अवधीमा औषधी उपचार र अति आवश्यक काम बाहेक घरबाट बाहिर निस्कन समेत प्रतिबन्ध लगाइएको छ । तर नेकपा एमालेका नेता एंव संविधानसभा सदस्य राजकुमार गुप्ताले निषेधाज्ञाको उल्लंघन गरेर विगत चार दिन यता आफनो निर्वाचन क्षेत्रमा चुनावको तयारी भन्दै कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम गर्दै आएको र स्थानीय प्रशासन मुकदर्शक बनेपछि त्यसको सर्वत्र आलोचना भइरहेको छ । एमाले नेता गुप्ताले मंगलबार जेठ १७ गते पोखरीया, औरही, सन्ठी, बहुअर्वामा कार्यकर्ता भेला गर्नुभएको थियो । यस्तै मंगलबार नै नेता गुप्ताले पोखरीया नगरपालिका ९ शिवबर्वामा कार्यकर्ता भेलाका साथै पार्टी प्रवेश कार्यक्रम गर्नुभएको थियो । नेता गुप्ताले निषेधाज्ञामा भिडभाड गरि चुनावको प्रचार गर्दै राजनीतिक कार्यक्रम गरेको तस्वीर र समाचार विभिन्न अनलाइन मिडिया र सामाजिक सन्जालमा भाइरल भएपछि त्यसको आलोचना भइरहेको छ ।
निषेधाज्ञामा औषधी किन्न आउने व्याक्तिलाई समेत रोकेर कुटपिट र दुर्वव्यहार गर्ने प्रहरीले चुनावको प्रचारका लागि गाँउगाँउमा कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम गर्दै हिडेका सत्तारुढ दलका नेतालाई केहि नभन्नुले आश्चर्य लागेको नेविसंघका नेता विकास तिवारीले बताउनुभएको छ । तिवारी सहित जिल्लाका राजनीतिक दल तथा पत्रकार एवम् बौद्धिक समाजले यसको आलोचना गरेका छन् । यसरी नै सकारको बिरोधको नाउमा जसपा पर्साको उपेन्द्र यादव पक्षले पुत्ला दहन गरेको फोटो सार्वजनिक गरेपछि उसको पनि चर्को आलोचना भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहनको फोटो सो पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादवले सार्वजनिक गरेपछि त्यसको चर्को आलोचना भएको हो । एमाले नेता गुप्ताले निषेधाज्ञा उल्लघंन गरेर गाँउमा भिडभाड गरि गरेको कार्यक्रमको तस्वीर पनि सामाजिक सन्जालमा पोष्ट गर्दै तिवारीले निषेधाज्ञामा नेतालाई चुनावी कार्यक्रम गर्न सरकारले के छुट दिएको हो ? के नियम कानुन सर्वसाधरण जनतालाई मात्र लाग्ने हो ? भनेर प्रश्न पनि गर्नुभएको छ । यद्यपि एमाले नेता एंव पूर्व सांसद गुप्ताले भने आफू पोखरियाको शिवर्बामा रहेका स्थानीय मनोज कुर्मीको स्वास्थ्य अवस्था बुझ्नका लागि गएको र त्यही स्थानमा एक जनाले आएर टीका लगाइदिनु भनेपछि आफूले टीका मात्रै लगाइदिएको दाबी गर्नुभएको छ । उहाँले आफूले कुनै चुनावी कार्यक्रम नगरेको र योबेला ज्यान जोगाउनु नै ठूलो कुरा भएकोले अहिले कार्यक्रम गर्ने अवस्था नभएको र आफूले कुनै कार्यक्रम आयोजना नगरेको जिकिर गर्नुभएको छ । यस्तै जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले सरकारको गलत कदमका बिरुद्ध प्रदर्शन गर्नु परेको दाबी गर्नुभयो । संविधान मिच्ने काम राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबाट भएकाले बाध्यताले आफूहरुले कोरोनाकालमा पनि प्रदर्शन गर्नुपरेको बताउनुभयो । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले भने निषेधाज्ञा अवधीमा कुनैपनि भेला, सम्मेलन र कार्यक्रम गर्न नपाइने बताउनुभयो ।