वीरगन्ज,नेपालीहरुको महान पर्व दसैँलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले ६ सयवटा खसी–बोका खरिद गर्ने भएको छ ।

शाखाले मकवानपुरबाट १ हजारवटा बोका खरिद गर्न लागेको भए पनि अहिले ६ सयवटा खसी–बोकाको मात्र कोटा आएको शाखा प्रमुख विकास कटुवालले जानकारी दिनुभयो ।

यस वर्ष केन्द्रबाट ६ सय वटा खसी–बोका खरिदको कोटा आएको जानकारी दिँदै उहाँले पर्सा बारामा पर्याप्त खसी–बोका नपाइने भएकाले मकवानपुरबाट खरिद गर्न लागिएको बताउनुभयो । खसी–बोका खरिदका लागि कार्यालयको कर्मचारी टोली अर्को साता मकवानपुर जान लागेको उहाँले बताउनुभयो । १८ किलोमाथिको बजनको बोका प्रतिकिलो ५ सय २० रुपैयाँमा शाखाले खरिद गर्ने उहाँले बताउनुभयो ।

त्यसैगरी २० देखि २५ किलोको खसी प्रतिकिलो ५ सय ७५ रुपैयाँ र २५ किलोमाथिको खसी प्रतिकिलो ५ सय ९९ रुपैयाँमा खरिद गर्न लागिएको उहाँले बताउनुभयो । मकवानपुरमा खरिद गरिएको खसी–बोका संघीय राजधानी काठमाडौं लगिने उहाँले बताउनुभयो । त्यस्तै शाखाले असोज १ देखि कात्तिक १५ सम्म सहुलियत छुट मूल्य पसलसमेत सञ्चालन गर्ने भएको छ । कटुवालका अनुसार पसलबाट साविकको भन्दा सस्तो मूल्यमा स्टिम जिरा मसिनो र सोना मन्सुली चामल बिक्री गरिने भएको हो ।

Leave a Reply