निजगढ,निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले बिहीवारदेखि शुरु हुने २०८१ सालको एसइइ परीक्षामा निजगढ नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयबाट सहभागी हुने विद्यार्थीलाई सफलताको लागि शुभकामना दिनुभएको छ ।

नगर प्रमुख पुरीले निजगढ नगरपालिकाको आधिकारिक फेसबुक पेजबाट भिडियो मन्तव्य सार्वजनिक गर्दै परीक्षामा सहभागी हुने विद्यार्थीहरुको लागि बुधवार शुभकामना व्यक्त गर्नुभएको हो ।‘तपाईँहरुको मेहनत, लगनशीलता र आत्मविश्वासले उत्कृष्ट नतिजा प्राप्त होस भन्ने अपेक्षा एवं विश्वास राख्दै सम्पूर्ण विद्यार्थी भाईबहिनीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ उहाँले भन्नुभएको छ ।

त्यसैगरी उहाँले परीक्षा मर्यादित र भयरहित वातावणमा संचालन गर्न केन्द्राध्यक्ष र सुरक्षाकर्मीहरुसंग आग्रह पनि गर्नुभएको छ ।यस वर्षको एसईई परीक्षामा निजगढ नगरपालिकाका ५ सय ६८ जना विद्यार्थी सहभागी हुनेछन । निजगढमा रहेका ८ सामुदायिक र २ संस्थागत गरी १० वटा माध्यमिक विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी हुन लागेका हुन ।
निजगढमा एसईई परीक्षाको लागि यस वर्ष पनि निजगढ ८ को गौरीशंकर मावि र निजगढ ६ को गौरीशंकर मावि सडकटोल परीक्षा केन्द्र कायम गरिएको छ । निजगढ ८ को परीक्षा केन्द्रमा सार्वजनिक मावि बागदेव, गौरीशंकर मावि सडकटोल, नेत्रोदय मावि योजना, बकैया ठाकुर मावि, नेरामावि सिगौल र होली एञ्जल्स बोडिङ्ग स्कुलबाट २५५ जना परीक्षार्थी विद्यार्थीहरु सहभागी हुने गौरीशंकर मावि निजगढ ८ का केन्द्राध्यक्ष बद्रीनारायण झाले जानकारी दिनुभयो ।
त्यसैगरी सडकटोल परीक्षा केन्द्रमा भने गौरीशंकर मावि निजगढ ८, नेरामावि लाल, नेरामावि रतनपुर र विद्यासागर बोडिङ्ग स्कुलका ३१३ जना परीक्षार्थी रहेका छन । यो केन्द्रमा यादवकुमार तिमल्सिनालाई केन्द्राध्यक्ष तोकिनुभएको छ ।

Leave a Reply