वीरगन्ज,आर्थिक वर्ष २०७८÷७९ का लागि सरकरले प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रका लागि खासै राम्रो प्याकेज नल्याइएको वीरगन्जका उद्योगी व्यवसायीहरुले बताएका छन् । उनीहरुले बजेटमा खासगरी बढी राजश्व उठ्ने वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेको उद्योगहरुका लागि सम्झनलायक कुनै कुरा बजेटमा नसमेटिएको प्रतिक्रिया दिएका छन् । हरेक वर्षजस्तै यस वर्ष पनि यहाँका उद्योगीहरुले अपेक्षा गरेअनुसारको बजेटमा उद्योग व्यवसाय क्षेत्र समेटिन नसकेको उनीहरुको भनाइ छ ।
कोरिडोरका उद्योगीहरुले वीरगन्जमा रहेको ड्राईपोर्टलाई बढाएर डस्टी कार्गो र लिक्विड कार्गो ल्याउने बनाउनु पर्ने भएपनि बजेटमा त्यसको कुनै किसिमको चर्चा नै नगरिएको उद्योगी गणेश लाठले बताउनुभयो । औद्योगिक नगरी वीरगन्ज र यस क्षेत्रका अन्य समाजिक विकासका क्षेत्रमा पनि बजेटमा खासै कुनै महत्वपूर्ण कुराहरु नसमेटिएको लाठले बताउनुभयो । वीरगन्जलाई देशभरिको ट्रान्जिट इम्पोर्ट एक्सपोर्टको क्षेत्र बनाउन ध्यान दिनुपर्नेमा बजेटमा त्यसको कुनै व्यवस्था नगरिएको वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले बताउनुभयो । वीरगन्जलाई माथिल्लो निकायले जहिले पनि बजेट नदिने गरेको र बेवास्ता गर्ने गरेको तथा यसपाली पनि त्यही भएको उहाँको आरोप छ । उद्योग सम्बन्धी साना–साना शीर्षकहरुमा बजेटको व्यवस्था गरिएको र त्यो पैसा खर्च हुन नसक्ने खालको भएको उहाँको भनाइ छ । अहिले आएको बजेटलाई चुनावी बजेटको संज्ञा दिँदै वीरगन्जका अशोक टेमानीले वीरगन्जको लागि मात्र नभइ समग्र २ नम्बर प्रदेशकै उद्योगको लागि बजेटमा केही पनि नभएको बताउनुभयो ।