राजन कुमार बानिया
पोखरिया,चमार कल्याण समाज मलेसिया शाखाको आर्थिक सहयोगमा पर्सा जिल्लाको जिराभवानी गाउँपालिकाका अति विपन्न चमार समुदायलाई खाद्यान्न राहत वितरण गरिएको छ । समाजको मलेसिया शाखाले जिल्लाका २७ चमार घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो । कोभिड–१९ विरुद्ध रोकथाम र प्रतिकार्यको लागि विश्वव्यापी लकडाउनसंगै नेपालमा पनि लकडाउनको अवस्था छ ।
पर्सा जिल्लामा पनि विगत एक महिनादेखि निषेधाज्ञा जारी छ । जसको कारण पर्सा जिल्लामा दलित, मजदुर, जेष्ठ नागरिक र दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरु प्रभावित बनेका छन । रोजगारीको सबै बाटो बन्द भएकोले उनीहरुको परिवारमा हातमुख जोडने समस्या परेको हो । दलित समुदायमा देखिएको भोकमरी रोक्न जिराभवानी गाउँपालिका वडा–४ को चमार समुदायमा राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरिएको हो । सो अवसरमा प्रतिपरिवार १० केजी चामल, १ केजी दाल, १ लिटर तेल, १ केजी आलु, १ केजी नुन, २ पिस साबुन, १ पिस सरफ, २ पिस मास्क र केही आयुर्वेदिक (औषधिको रूपमा काम लाग्ने) सामग्री वितरण गरिएको थियो ।
पर्सा जिल्ला सदरमुकाम वीरगन्जबाट ४० किमी टाढा रहेकोे यो पालिकामा ग्रामीण बस्ती रहेकोे छ । गाउँका अति विपन्न, मजदुर चमार समुदायका अधिकांश मानिसहरुले गाउँबाहिर गएर परिवारको जिबिका चलाउदै आएका थिए । तर जारी लकडाउनका कारण उनीहरुको रोजगारी रोकिएको छ।
सिरहा जिल्ला घर भइ हाल मलेसिया रहनु भएका रामकिशोर मोची (महरा) को बिशेष पहलमा चमार कल्याण समाज मलेसिया शाखाले राहतमा खाद्यान्न वितरण गर्नको लागि २९ हजार २ सय रुपैया आर्थिक सहयोग गरेको थियो ।
कार्यक्रममा चमार समाज कल्याण समाजका केन्द्रीय सदस्य तथा दलित सामाजिक अभियान्ता मनोज राम, पिसफोर दलितस फाउन्डेसनका उपाध्यक्ष तथा नागरिक स्वयंसेवी समुहका संयोजक चन्द्रकिशोर चमार, अशोक राम, दीपेन्द्र राम, स्थानीय चमार अगुवा सुखारी राम, शिव चमार र चमार समुदायबाट निर्वाचित चन्द्रेशवर राम लगायतको उपस्थित थियोे ।