कलैया,नेपाली सेनाको श्री ज्वाला दल गणले दोस्रो कलैया उपमहानगरपालिका फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । कलैयाको भोडाहामा बिहीवारबाट शुुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा अमृतज्योति स्पोर्ट्स क्लबमाथि ज्वाला दलले ९÷० को जित निकालेको हो ।ज्वाला दलको जितमा मदन डांगीले ह्याट्रिक गरेका थिए । उनी प्लेयर अफ दि म्याच घोषित भए । उनले एक हजार नगद प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत शुक्रवार न्यू जनजागृति युवा क्लब निजगढ र सिद्धीबाबा युवा क्लब अमलेखगञ्जबीच खेल हुनेछ ।
कलैया उपमहानगरपालिकाको सहयोगमा नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ ।जेठ १० गतेसम्म आयोजना हुने प्रतियोगितामा ज्वाला दल, अमृतज्योति, न्यू जनजागृति, सिद्धिबाबा, समाज विकास युवा क्लब भोडाहा, सनराईजिङ क्लब उमजन, जनप्रगति युवा क्लब करैयामाई, उजाला युवा क्लब बरेवाको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार प्राप्त गर्नेछन् ।यसअघि प्रतियोगिताको उद्घाटन कलैया उपमहानगरपालिकाकी नगर उपप्रमुख रौशन प्रविणले गर्नुभएको थियो । नगर खेलकुद विकास समितिका अध्यक्ष एम समिउल्लाहको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत नाथु साह, वडा नम्बर २१ का वडाध्यक्ष शिवबिहारी चौधरी, वडा नम्बर २ का वडाध्यक्ष राजेश कुमार महतो, वडा नम्बर २२ का वडाध्यक्ष शिउचन्द्र कामी, जिल्ला फुटवल संघका सचिव विनोद साहलगायतको उपस्थिति रहेको थियो ।



















