कलैया,बारा प्रहरीले दुई करोडभन्दा बढीको अवैध सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।प्रहरी चौकी पथलैयाबाट प्रहरी नायब निरीक्षक बब्बी बम्जनको नेतृत्वमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित पथलैया चोकबाट उक्त ट्रक नियन्त्रणमा लिएको हो ।

वीरगन्जबाट कास्कीतर्फ जाँदै गरेको ना ५ ख ९१४९ नम्बरको ट्रकलाई रोकेर जाँच गर्ने क्रममा ट्रकमा लोड गरिएका सामग्रीको बिल शंकास्पद देखिएपछि सामानसहित ट्रक नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रकमा नोकिया र वल्र्डलिंक कम्पनीका १७,२७० थान राउटर लोड गरिएको थियो । उक्त सामानको मूल्य रु. दुई करोड ७० लाख ५६ हजार तीन सय आठ रहेको छ ।बरामद सामानसहित नियन्त्रणमा लिइएको ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी जितपुर प्रहरीले झण्डै ५४ लाख रुपैयाँ मूल्य बराबरका अवैध सामानसहितको एउटा ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी सहायक निरीक्षक राजन सिवाकोटीको कमाण्डमा खटिएको प्रहरी टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरस्थित इलाका प्रहरी कार्यालय अगाडिको चेकपोइन्टमा उक्त ट्रक नियन्त्रणमा लिएको हो ।वीरगञ्जबाट रुपन्देही जाँदै गरेको ना–५ ख ६७४७ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा सो सामान फेला परेको प्रहरीले जनाएको छ । चेकजाँचका क्रममा ट्रकमा लोड गरिएका सामानको बिल शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता खेम प्रसाद नेपालका अनुसार, बरामद गरिएका सामग्रीमा ५४ लाख ३५ हजार २ सय ७८ रुपैयाँ बराबरको कपडा, लङ (ज्वारो), धागो, चप्पल लगायतका खुद्रा सामग्रीहरू रहेका छन् ।



















