ठोरी,कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि पर्साको ठोरी गाउँपालिकाले १५ बेडको अक्सिजन सहितको आइसोलेसन बनाएको छ । कोभिडका बिरामी बढ्दै गए थप ५ बेड अक्सिजन सहितको बेड पनि तयारी अवस्थामा राखेको गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले जानकारी दिनुभयो । ठोरी गाउँपालिकाले घ्याङडाँडामा निर्माणाधिन बौद्ध गुम्बालाई कोभिड संक्रमितको उपचारका लागि आइसोलेसन बनाएको हो । गाउँपािलकाले कोरोना संक्रमितहरुलाई होम आईसोलेसनमा नै राख्न सबै वडा कार्यालयमार्फत व्यवस्था मिलाएको छ । होम आइसोलेसनमा रहेका संक्रमितहरुको स्वास्थ्य अवस्थाका बारेमा पालिकाले निरन्तर जानकारी लिइरहेको ठोरी गाउँपालिकाका स्वास्थ्य संयोजक रमेशराज थिङ्ले जानकारी दिनुभयो । संक्रमितको स्वास्थ्यमा गम्भीर समस्या देखिए र अक्सिजन सपोर्ट आवश्यक पर्ने अवस्थामा गाउँपालिकाको आइसोलेसनमा ल्याइने अध्यक्ष श्रेष्ठले बताउनुभयो । हाल ठोरीमा ८ जना संक्रमितहरु होम आइसोलेसनमा रहेको गाउँपालिका कार्यालयले जनाएको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको र कसैलाई पनि अहिलेसम्म अक्सिजन सपोर्टको आवश्यक्ता नरहेको स्वास्थ्य संयोजक थिङ्ले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमितलाई श्वासप्रश्वासमा समस्या भएर अक्सिजनको सपोर्ट आवश्यक परे घ्याङडाँडामा रहेको आइसोलेसनमा ल्याइने छ । घ्याङडाँडामा उपचार हुन नसकी थप उपचारको आवश्यक्ता भए पालिका कार्यालयले निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाएको पनि संयोजक थिङ्ले जानकारी दिनुभयो । यस अघि ठोरी ४ का गम्भीर कोभिड संक्रमित ६४ वर्षीय पुरुषलाई गापाले नारायणी अस्पतालसम्म पुर्याएको थियो । घ्याङडाँडाको आइसोलेसनमा अक्सिजन सहितको बेड र अक्सिजन कन्सर्न ट्रेटर मेसिनको व्यवस्था मिलाइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । कोभिडको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि पालिका स्तरबाट गर्न सकिने सबै प्रयास गरिरहेको अध्यक्ष श्रेष्ठको दाबी छ ।

त्यसका लागि २० थान सिलिण्डर अक्सिजन र ५ थान अक्सिजन कन्सर्न ट्रेटर मेसिनको व्यवस्था मिलाइएको उहाँको दाबी छ । अक्सिजन कन्सर्न ट्रेटर मेसिनले पानीमा हुने अक्सिजनलाई बिरामीसम्म पुर्याउन मद्दत गर्ने उहाँको भनाइ छ । गाउँपालिकाले कोभिडका बिरामीलाई बोक्नका लागि एउटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ भने ननकोभिड बिरामीलाई दिइने सेवालाई समेत निरन्तरता दिन अन्य दुई वटा एम्बुलेन्स संचालनमै रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी निषेधाज्ञाको समयमा देशका विभिन्न स्थानबाट गाउँ फर्किएकाहरुलाई होम क्वारेन्टाइनमा राख्न गाउँपालिकाले सबै वडाका अध्यक्षहरुमार्फत रेखदेख गरिरहेको छ । यस्तै गाउँपालिकाले एन्टिजेन परीक्षण र संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्र्याक्ट ट्रेसिङ्लाई पनि तिब्रता दिइरहेको जनाएको छ।

चिकित्सक र नर्सको आवेदन परेन

ठोरी,कोरोना संक्रमणको पहिलो लहर सुरु हुँदा नै ठोरी गाउँपालिकाले प्रभावकारी उपचार सेवाका लागि स्वास्थ्य तर्फको आठौं तहको मेडिकल अधिकृत र स्टाफ नर्सका लागि विज्ञापन गरेपनि आवेदन नपरेको पाइएको छ । गत वर्षको कार्तिक महिनामा पहिलो पटक र पुनः मङ्सिर महिनामा दोस्रो पटक करारमा सेवा लिने गरि गरेको विज्ञापनमा कसैले पनि आवेदन दिएनन् । एमबिबिएस उत्तीर्ण मेडिकल अफिसर १ जना र स्टाफ नर्स २ जना माग गरेकोमा २ पटक सम्म कसैले आवेदन नदिएपछि उक्त पद रिक्त नै रहेको स्वास्थ्य संयोजक थिङ्ले बताउनुभयो । गाउँपालिकाले स्वास्थ्य मन्त्रालयलाई समेत मेडिकल अफिसर र स्टाफ नर्स पठाइदिन अनुरोध गर्दै पटकपटक पत्राचार गरिएको बताउनुभयो तर पनि जनशक्ति व्यव्स्थापन हुन नसकेपछि यस वर्ष पुनः सोही पदमा विज्ञापन गरेको र फेरि पनि कसैले आवेदन नदिँदा पद रिक्त नै रहेको गापा कार्यालयले जनाएको छ । मन्त्रालयले तलबभत्ता पठाइसकेको भएपनि जनशक्ति उपलब्ध नहुँदा एचए र अहेबकै भरमा आइसोलेसन सन्चालन गर्नुपर्ने बाध्यता आइपरेको अध्यक्ष श्रेष्ठको गुनासो छ ।

Leave a Reply