मनोजकुमार शाहा
जीतपुर,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ जीतपुर तरकारी बजार र मुख्य सडक छेउका माछा– मासु पसलहरूमा बिक्रेताहरूले मनपरी गर्न थालेका छन् । बिना दर्ता संचालन गरिएका पसलका मालिकलेमासुको मूल्य पनि मनपरी तोक्ने गरेका हुन ।नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारीले यस विषयमा हालसम्म कुनै पनि प्रकारको अनुगमन र निगरानी नगरेको स्थानीय बासिन्दाहरूको गुनासो छ । मासु पसलेको मनपरी विरुद्ध पटक–पटक उजुरी दिँदा पनि सम्बन्धित निकाय मौन बसेको उनीहरुको आरोप छ ।
प्रत्यक्षदर्शीहरूका अनुसार केही मासु व्यवसायीहरूले मासुमा जानीजानी पानी मिसाएर बिक्री गर्ने गरेका छन । व्यापारीहरुले एक हजार रुपैयाँ प्रतिकिलोमा बिक्री हुने खसीको मासुमा आधा पानी मिसाएर उपभोक्तालाई ठग्ने गरेका हुन ।त्यसैगरी १० देखि १२ किलो तौल भएको खसी वा बाख्रालाई हावा भर्ने पम्प (साइकलको टायर फुलाउने) प्रयोग गरी पानीसहितको हावा भर्ने तौल बढाएर १८ देखि २० किलो पुर्याइने र सोही अनुसार रकम असुल्ने गरिएको एकजना उपभोक्तले बताएका छन । यसरी कृत्रिम रूपमा तौल बढाएर बजारमा खुल्लमुल्ला मासु बिक्री भइरहेको र इलाका प्रहरी कार्यालय जीतपुरले समेत नियन्त्रणको लागि कुनै चासो नदेखएको उनीहरुको भनाई छ ।
यसबाहेक व्यापारीहरुले मानव स्वास्थ्यका लागि हानिकारक मानिने खसी बोकाका अङ्गहरू समेत मिसाएर बेच्ने गरिएको पाइएको छ । यस्ता मासुहरू सदरमुकाम कलैया, वीरगञ्ज र राजधानी काठमाडौँसहित देशका विभिन्न शहरहरूमा ‘छाँटीएको मासु’को नाममा पठाइने र बिक्री वितरण हुने गरेको बताइन्छ ।


















