पुष्पराज खतिवडा

मनहर्वा,कलैया उपमहानगरपालिकाले आफ्ना क्षेत्रका सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमको पठनपाठन सुरु गर्ने भएको छ । नवनिर्वाचित नगर प्रमुखको पहिलो बैठकबाट आइतवार नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने निर्णय भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार अपराहन्न भएको सपथ ग्रहणपछि नगरप्रमुख साह कार्यभार सम्हाल्न नगरपालिका कार्यालयमा पुग्नुभएको थियो । नगरप्रमुख विनोद साह एवं उपप्रमुख रौशन प्रविनले कार्यभार समालेपछि पहिलो निर्णय शिक्षा सुधारको पक्षमा गर्नुभएको हो ।

पदभारग्रहणपछि संचारकर्मीहरुसँग प्रतिकृया दिँदै मेयर साहले नगरको शिक्षा, स्वास्थ्य र कृषिको विकासमा पहिलो प्राथमिकता रहने बताउनुभयो । विगतकोभन्दा फरक र जनमैत्री ढंगबाट नगरको सेवा प्रवाह हुने उहाँको भनाइ थियो ।

अंग्रेजी भाषाको आवश्यकता र महत्वलाई ध्यानमा राखेर विद्यालयको तल्लो तहबाटै अंग्रेजी भाषा सिकाईलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको हो । हाल बाल कक्षादेखि १, २ र ३ सम्मका बालबालिकाहरुका लागि अल ईन वान अंग्रजी सहयोगी पुस्तक खरिद गरिने बताइएको छ । त्यसका लागि ९ लाख र अंग्रेजी माध्यमको गणित विषयको पुस्तक खरिद तथा तालिम संचालन गर्न २२ लाख रुपैंयाको अनुमानित बजेट बिनियोजन भएको छ । आवश्यकता अनुसार थप गरिदै लगिने नगरप्रमुख साहले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य एवं मधेश प्रदेश सहईन्चार्ज ज्वाला कुमारी साह, युवा संघ बाराका अध्यक्ष पुरुषोत्तम् साह लगायत जिल्लाका नेताहरुको समेत उपस्थिति थियो ।

यसैबीच कलैया उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बिनोद साहले वडा नम्बर १ देखि २७ सम्मका वडा अध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएको छ । मेयर साहले आफूले सपथग्रहण गरेपछि उपमहानगरपालिकाको कार्यालयमा आइतवार नै आयोजित कार्यक्रममा अन्य जनप्रतिनिधिहरुलाई पनि सपथ गराउनुभएको हो ।

सो अवसरमा कर्मचारीहरुलाई जनता र समुदायको हितलाई ध्यानमा राखेर काम गर्न सुझाव दिनुभएको छ । सो अवसरमा नेकपा एमालेकी नेतृ तथा पूर्वमन्त्री ज्वालाकुमारी साह, अच्युत मैनाली, बलवीर चौधरी, अदयानन्द पाण्डे, उपप्रमुख रोसन प्रबिन, राज मह्मदलगायत सञ्चारकर्मीको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply