वीरगन्ज,पर्सामा सशस्त्र प्रहरीले ठूलो मात्रामा लागूऔधध गाँजा नियन्त्रणमा लिएको छ ।
जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर ३ को ठुटेखोला ईलाकाबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा बिओपी ठोरीले सोमबार करीब ३ सय ६३ किलो गाँजा र गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको जनाइएको छ ।
मकवानपुरको हेटौंडाबाट पर्साको विजयबस्तीतर्फ जाँदै गरेको ना ४ ख ६५५५ नम्बरको ट्रक नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार ट्रकमा फल्स वटन प्रयोग गरेर २२ वटा कार्टुनमा प्याक गरी लैजाँदै गरेको अवस्थामा गाँजा र ट्रक नियन्त्रणमा लिइएको थियो । ट्रकका चालक भने प्रहरीलाई देख्नासाथ ट्रक त्यही ठाउँमा छाडेर फरार भएका थिए ।
बरामद गाँजा तथा ट्रकलाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको छ ।


















