सेढवा,समुदायमै कोरोना संक्रमण फैलिएको पर्साको जगरनाथपुर गाउँपालिका– ५ चिलझप्टीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । २७ बैशाखमा घरघरमा ज्वरोका बिरामी रहेको समाचार बाहिरिएपछि भोलिपल्ट स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेको थियो । गाउँमा सोहि दिन ११ जनाको एन्टीजीन परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यकर्मीको टोलीले गाउँमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका र सामान्य मानिसहरु गरी २५ जनाको स्वाब नमुना पीसीआर परीक्षणका लागि वीरगन्ज ल्याएका थिए । संक्रमण पुष्टि भएकालाई घरमै आइसोलेसन बस्न लगाईएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साहले जानकारी दिनुभयो । स्थानीय प्रशासनले चिलझप्टीमा निषेधाज्ञाको पूर्ण पालना गर्न गराउन निर्देशन दिएको छ ।