कृष्ण मोहन साह
सेढवा,बाघको आक्रमणबाट पर्साको जिराभवानी गाउँपालिकाका एकजना युवक घाइते भएका छन् ।
घाइते हुनेमा जिराभवानी गाउँपालिका वडा नम्बर ५ हरैया निवासी २५ वर्षीय दशरथ माझी मुसहर रहेका छन् । डिभिजन वन कार्यालय पर्साको राष्ट्रिय वनमा दाउरा लिन गएको बेला दिउँसो करिब १ः०० बजे बाघको आक्रमणमा परेर मुसहर घाइते भएको स्थानीयले जनाएका छन ।सात जनाको समूहमा दाउरा लिन गएका मुसहर दाउरा खोज्ने क्रममा तीन जना छुटेको र सोही क्रममा मुसहरमाथि बाघले आक्रमण गरेको सँगै रहेका प्रत्यक्षदर्शीले जानकारी दिए । बाघको आक्रमणपछि अन्य साथीहरुले दाउरा, खुर्पा लिएर बाघमाथि जाइलाग्दा बाघ भागेको उनीहरुले बताएका छन । बाघको आक्रमणबाट मुसहरको शरीरको कम्मरमुनिको पछाडिको भाग र दाहिने तिघ्रामा चोट लागेको छ ।बाघको आक्रमणबाट घाइते मुसहरलाई शंकरसरैया स्वास्थ्य चौकीमा उपचार गरी थप उपचार को लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाले जानकारी दिनुभएको छ ।

















