वीरगञ्ज,पर्सा जिल्लाको वीरगन्जस्थित तीन वटा गोदाम लगायत विभिन्न इलाकाबाट भन्सार छली गरेर ल्याएको करिब २० लाख रुपियाँ बराबरको सामान बरामद भएको छ ।सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ स्थित नगवा इलाकाबाट सात लाख ८० हजार ४ सय ३० रुपियाँ बराबरको विभिन्न किसिमका सामान बरामद गरेको हो ।
यस्तै, भारतबाट अवैध रूपले ल्याइ सोही ठाउँको खुम्बु चकलेट उद्योगको गोदाममा भण्डारण गरी राखेको तीन लाख ६ हजार ६ सय ३० रुपियाँको चकलेट, चिनी र बोरा सिलाउने तथा जोख्ने मेसिनहरू समेत प्रहरीले बरामद गरेका छन् ।
यसबाहेक, सोही ठाउँको एक घरमा लुकाएको चार लाख ७३ हजार ८ सय रुपियाँको काजु, खजुर, बदाम, बिस्कुट, अजिर र किसमिसका सामान बरामद भएको छ । सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा गोदाममा छापा मारेको थियो ।
यसैगरी वीरगञ्ज महानगरपालिका–८ मिनाबजारस्थित पारस प्रसाद एण्ड राजेश कुमार सप्लायर्सको गोदाममा पनि भण्डारण गरी राखिएको दुई लाख ७० हजार १ सय७० रुपियाँको आलु र प्याज समेत बरामद भएको छ । प्रहरीले वीरगञ्जकैआदर्शनगरबाट ९ लाख ४५ हजार ६ सय रुपियाँ बराबरको काजु, मरिच र ट्याम्पोसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
घटनमा संलग्न बारा जिल्लाको विश्रामपुर गाउँपालिका–२ बैरैनिया बस्ने २५ वर्षीया विनोद कुश्वाहा सो सामान ना २ ह ५९६ नम्बरको ट्याम्पोमा लोड गर्दै गरेको अवस्थामा पक्राउ परेका छन् ।सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौजले यस अघि पनि सो क्षेत्रका विभिन्न गोदाममा छापामारी करोडौँ रुपियाँ बराबरको अवैध सामान बरामद गरेको छ । नियन्त्रणमा लिइएको अटो र बरामद सामान वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।



















