कलैया,संविधान सभाका सदस्य डाक्टर शोभाकर पराजुलीले विपीको विचारलाई आफ्नो स्वार्थअनुसार व्याख्या गर्न थालिएको बताउनुभएको छ ।जननायक विपी कोइरालाको ११०औं जन्मजयन्तिको अवसर पारेर आइतवार प्रेस नोट जारी गर्दै डाक्टर पराजुलीले यस्तो बताउनुभएको हो ।नेपाली काँग्रेस लगायत अधिकांश दल, शक्ति, समूह र व्यक्तिहरुले आफ्नो स्वार्थ र सरोकार अनुसार विपी विचारको चर्चा गर्न थालेको उहाँको भनाई थियो । अहिले नेपाली काँग्रेसभित्र जो सत्तामा छ उनीहरु त्यसै जिम्मेवारीमा व्यस्त र मस्त छन् । कार्यकर्ताको अधिकांश संख्या जनताको माझमा बसेर निरन्तर उनीहरुसँग संवादमा छन् तर यतिबेला उनीहरु दिग्भ्रमित छन डाक्टर पराजुलीको भनाई छ ।जनताको चरम निराशा, लोकतन्त्र र संविधानमाथि आक्रमण भइरहदा नेपाली काँग्रेसले कार्यकर्ताहरुलाई प्रष्ट दिशा दिन नसक्नाले. उत्पन्न भएको यस्तो अवस्थामा कार्यकर्ताहरुमा सक्रिय रहौं कि सिथिल बनौं भन्ने अन्यौल र द्विविधा रहेको उहाँको भनाई छ । ‘सक्रिय बनौं भने आम नागरिकको गुनासो, वेदना, आक्रोश, अपेक्षालाई तुष्ट पार्ने उपाय देखिँदैन, उहाँले प्रेस नोटमा अगाडि भन्नुभएको छ, निस्क्रिय बसौं, त्यो पनि सम्भव लाग्दैन ।’तानाशाही व्यवस्था, निरंकुश राजाविरुद्द लड्न सजिलो थियो तर अहिले आफ्नै विरुद्द संघर्ष गर्न अत्यन्तै अप्ठ्यारो हुने अनुभव पनि उहाँले नोटमा व्यक्त गर्नुभएको छ । उहाँले अगाडि भन्नुभएको छ– जात, धर्म, सम्प्रदाय, भाषा, संस्कृति, परम्परा आदिका बीच अझ बढी आदर, सम्मान र सामञ्जस्यको आवश्यकता छ । त्यति मात्र नभएर रोग, भोक, अभाव, गरीबी, अशिक्षा, हिंसा, भ्रष्टाचार साझा शत्रु हुनुपर्छ तर त्यसो भईरहेको अवस्था देखिदैन । यसको निदानका लागि एकता, सहमति, सहकार्य र मेलमिलाप नै उत्तम विकल्प रहेको छ ।’राष्ट्रको शाख बढाउन अन्तर्राष्ट्रिय सम्बन्ध अझ सबल, सक्षम बनाउनुपर्ने डाक्टर पराजुलीको भनाई छ । उहाँले लेख्नुभएको छ– राजनीति सेवा भएकोले धन नभै मन, मत र मद्दतको पक्षमा आँफूलाई उभ्याउनु पर्छ । निष्ठा, आदर्श, त्याग र जीवन उत्सर्गको पाटोलाई कहिल्यै भुल्नु हुँदैन ।’‘निर्णय लिन अप्ठ्यारो भएको बेला देशको माटो मुठीमा लिएर सोचौं । अर्थात् अन्तर आत्मालाई सोधौं । आत्मले जे भन्छ त्यही गरौं अनि सार्थक हुन्छ ।’ विपीको भनाई उद्धरण गर्दै उहाँले लेख्नुभएको छ, अहिले मुलुकमा अध्याँरो थपिंदै गएको छ, जुनकिरीहरु कतै अध्याँरोको मोहपाशमा त फसेनन् भन्ने गहिरो आशंका छ । त्यसैले अब उठौं, जागौं, एकतावद्ध होऔं, क्रियाशील बनौं, निराश नबनौं, इमान्दारिता देखाऔं, आस्था, आदर्श र विचार मर्न नदिऔं ।’डा. पराजुलीले कालो बादलभित्र चाँदीको घेरा अवश्य झल्किन्छ भन्दै आजको पुनित अवसरले देश, जनता र लोकतन्त्रलाई शीरमा राखेर काम गर्ने प्रतिवद्धता र कार्यान्वयनतर्फ लागौं भनेर प्रेस नोटमा उल्लेख गर्नुभएको छ ।



















