वीरगन्ज,दोस्रो लहरको कोरोना भाइरस संक्रमण फैलिएदेखि यता वीरगन्जका विभिन्न बैंकहरुमा कार्यरत ९१ जना कर्मचारी पनि कोरोना संक्रमित भएका छन् । एभरेस्ट बैंकका सबैभन्दा बढी १० जना कर्मचारी संक्रमित भएका छन् । यस्तै नविल बैंक र मेगा बैंकका ९÷९, नेपाल बैंकका ८, ग्लोबल आईएमई बैंक र कुमारी बैंकका ६÷६, सिद्धार्थ बैंक, एनआईसी एसिया बैंक र एनआईबिएल बैंकका ५÷५ जना कर्मचारी संक्रमित भएका छन् । यसैगरी सिभिल बैंक, सेन्चुरी कर्मसियल बैंक र एडिबिएल बैंकका ४÷४, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनसिसि बैंकका ३÷३, माछापुच्छ्रे बैंक, स्ट्यान्र्डड च्यार्टड बैंक र सनराईज बैंकका २÷२ र सिटिजन्स बैंकका १ जना कर्मचारी संक्रमित भएका छन् । संक्रमितमध्ये १३ जना कर्मचारी संक्रमणमुक्त पनि भइसकेका छन् । हाल ७८ जना सक्रिय संक्रमित विभिन्न अस्पतालको आइसोलेसन तथा होम आइसोलसनमा उपचाररत छन् । सानो ठाउँमा धेरै मान्छे पुग्दा बैंकमा भौतिक दुरीलगायतका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सम्भव नभएको बैंकका एक कर्मचारीले बताएका छन् ।
कर्मचारीले बैंक प्रशासनसँग सतर्कता अपनाउन पटक–पटक आग्रह गरेपनि त्यसको सुनुवाई नभएको बताउँछन् । बैंकमा कार्यरत कर्मचारी पनि संक्रमित भएको अवस्थामा लगभग १ हप्तासम्म भएपनि पूर्ण रुपमा बन्द गरे चेन ब्रेक हुने वीरगन्ज बैंकर्स क्लबका अध्यक्ष नितेश खड्कीले बताउनुभयो । कारोवार पुर्ण रुपमा बन्द गर्नुभन्दा पनि थोरै समय सेवा दिनु तर निरन्तर दिनु भन्ने स्थानीय प्रशासनको आग्रह बमोजिम बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्रवाह भइरहेको खड्कीले बताउनुभयो ।