पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को पिलुवास्थित स्वास्थ्य संस्था परिसरमा बर्थिङ्ग सेन्टर (प्रसुति केन्द्र) भवनको शिलान्यास गरिएको छ । प्रदेश २ सरकारको करिब २० लाख रुपैंया लागतमा निर्माण गर्न लागिएको प्रसुति गृह भवनको पूर्वमन्त्री ज्वालाकुमारी साहले शनिबार शिलान्यास गर्नुभएको हो ।
प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयको कार्यक्रम तथा बजेटमा पिलुवा बर्थिङ्ग सेन्टर स्थापना हुन लागेको हो । प्रसुति केन्द्रले जीतपुरसिमरा उपमहानगरपालिकाको पिलुवा, टाँगियाबस्ती, महेन्द्रनगर, डकाह, बडहर्वाका हजारौं महिलाहरुका लागि प्रसुति सेवामा सहजता हुने पूर्व मन्त्री साहले बताउनुभयो । केन्द्रबाट प्रसुति विशेषज्ञ सहित स्वास्थ्यकर्मीको टोलीले नियमित सेवा प्रदान गर्ने जनाइएको छ ।
अपाङ्गमैत्री पाँचकोठे पक्की भवन आगामी असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको भवन निर्माण समितिका अध्यक्ष सुरेश रिमालले जानकारी दिनुभयो । पूर्वमन्त्री साहको विषेश पहलमा पिलुवामा प्रसुति केन्द्र स्थापना गर्न लागिएको उहाँको भनाइ थियो ।
शिलान्यास कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष केदार बजगाई, स्थानीय सामाजिक अगुवा हरिदेव खरेल, गोपिकृष्ण खतिवडा, भवन निर्माण समितिका सचिव विष्णुप्रसाद फुँयाल लगायतको सहभागिता रहेको थियो ।