नरेश गुप्ता
बरियारपुर, २६ साउन– बारामा एक २६ बर्षिय महिलालाई जबरजस्ति करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । बाराको बारागढी गाउँपालिका २ बिसुनपुर्वा निवासी ४० वर्षिय पन्नालाल साह तेलीमाथि छिमेकी महिलालाई जबरजस्ति करणी गरेको अभियोगमा मुद्दा दर्ता भएको हो ।
साउन १७ गते राति ८ बजे शौच गरेर फर्किने क्रममा चापाकलमा हातखुट्टा धुदै गरेकी एक महिलालाई जवरजस्ति नजिकैको बगैचामा लगेर साहले बलात्कार गरेको भन्दै पिडित महिलाले प्रहरीमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक एंव प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनुभयो ।
पिडित महिलालाई दवावमा पारेर गाउँमै सामसुम पार्न खोजिएकाले घटना ढिलो मात्र सार्वजनिक भएको हो । साहले महिलाको मुख थुनेर लगेको र जबरजस्ति करणी गरेको बताइएको छ ।
महिलाले आफुमाथि भएको बलात्कारको घटना सार्वजनिक गरेपर्छि उनका आफन्त र छिमेकीले उल्टै पिडित महिलालाई गाउँ निकाला गर्ने धम्कीसमेत दिएको पीडित महिलाले बताउनुभएको छ ।
आफन्तले नै झन बढी पिडा दिन थालेपछि न्यायको लागि आफु प्रहरीमा आएको उहाँले बताउनुभयो । पिडित महिलाको कलैया अस्पतालमा साउन २० गते स्वास्थ परीक्षण गरिएको छ । स्वास्थ परीक्षण रिपोर्ट र थप प्रमाणको अधारमा जबरजस्ति करणीमा मुद्दा दर्ता गरी थप कारवाही अघि बढाइएको प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनुभयो ।