वीरगन्ज,वीरगन्ज स्थित नारायणी अस्पतालले कोरोना संक्रमितको उपचारका लागि अतिउपयोगी मानिने रेम्डेसिभिर १५४ भाइल अस्पतालमा आइपुगेको जानकारी दिएको छ । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै नारायणी अस्पतालका प्रवक्ता डा. सरोज सिंहले नारायणी अस्पतालका लागि दोश्रो लटमा १ सय ५० भाइल मात्र रेम्डेसिभिर आएको जानकारी दिनुभएको हो । उहाँले चिकित्सकको सिफारिसका आधारमा अस्पतालको फार्मेसीबाट निश्चित शुुःल्क तिरेर बिरामीहरुले रेम्डेसिभिर खरिद गर्न सक्ने गरी व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो । सामाजिक संजाल लगायतका केही संचारमाध्यममा नारायणी अस्पतालमा यसअघि नै ५४ भाइल रेम्डेसिभिर औषधी आएको भन्ने खबरमा कुनै सत्ययता नरहेको पनि डाक्टर सिंहले विज्ञप्तिमार्फत स्पष्ट पार्नु भएको छ ।
आफूहरु महामारीविरुद्धको लडाइमा रहेका कारण आफूहरुको मनोवल गिर्ने खालका कुनै पनि कार्य वा भ्रामक प्रचार नगरिदिन पनि डाक्टर सिंहले सबैलाई आग्रह गर्नुभएको छ । यसैबीच नारायणी अस्पतालको व्यवस्थापन पक्षले अहिलेसम्म अस्पतालमा १ सय ५० भाइल मात्र रेम्डिसिभिर आएको दाबी गरेपनि औषधि व्यवस्था विभागले भने गत मंगलबार ५४ भाइल र बिहीबार १ सय ५० भाइल गरी २०४ भाइल रेम्डेसिभिर नारायणी अस्पताललाई पठाइएको आफनो वेबसाइटमार्फत जनाएको छ । औषधि व्यवस्था विभागले दुई चरणमा गरी २ सय ४ भाइल रेम्डेसिभिर नारायणी अस्पताललाई वितरण गरेको आफ्नो वेबसाइटमा सार्वजनिक गरेको हो । शनिबार अस्पतालका प्रवक्ता डाक्टर सरोज सिंहले विज्ञप्ति जारी गरेर १ सय ५० भाइल मात्र रेम्डिसिभर नारायणी अस्पतालमा आएको जानकारी दिएकाले औषधी व्यवस्था विभागबाट नारायणी अस्पतालमा पहिलो लटमा मंगलवार पठाएको ५४ भाइल रेम्डिसिभर कहाँ गयो त भनेर आलोचना भइरहेको छ । यसैबीच नारायणी अस्पतालमा आइपुगेको १५० भाइल रेम्डिसिभिर बिक्री वितरणका लागि अस्पताल प्रशासनले अनुगमन तथा सिफारिस समिति गठन गरेको छ । प्रुमख जिल्ला अधिकारीको निर्देशनमा अस्पतालका चिकित्सक डाक्टर नीरज सिंहको सयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको अस्पतालका मेसु डाक्टर सन्जय ठाकुरले जानकारी दिनुभयो । अहिले आएको १५० भाइल रेम्डिसिभिर मध्ये ५० भाइल अस्पतालकै संक्रमित स्वास्थ्यकर्मीका लागि राखिएको र बाँकी १ सय भाइल मात्रै अन्य सर्वसाधरण संक्रमितलाई उपलब्ध गराउन सकिने अवस्था रहेको मेसु ठाकुरले जानकारी दिनुभयो । तर विभिन्न अस्पतालहरुमा भर्ना रहेका संक्रमितका लागि माग अत्याधिक भएकाले अस्पतालले गठन गरेको समितिले कुनै पनि अस्पतालाबाट संक्रमितका लागि रेम्डिसिभीरको लागि सिफारिस आएमा प्राथमिकता निर्धारण गरेर नारायणी अस्पतालको फार्मेसीलाई सिफारिस गर्ने ठाकुरले बताउनुभयो । समितिको सिफारिसमा मात्रै अस्पतालको फार्मेसीले सरकारले तोकेको मुल्यमा रेम्डिसिभिर वितरण गर्ने ठाकुरले जानकारी दिनुभयो ।