कलैया,बाराका विभिन्न स्थानीय तहले विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाएका छन । नेपालको संविधान २०७२ जारी भएको दिन असोज ३ गते स्थानीय तहले दिवसको रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउदै आएका छन ।

सोही अवसरमा महागढीमाई नगरपालिकामा झण्डोत्तलन गरी बिश्व प्रसिद्ध गढीमाई मन्दिर परिशर पोखरीको सरसफाइ गरिएको छ । सोही कार्यक्रममा नगर प्रमुख उपेन्द्रप्रसाद यादबले झण्डोत्तलन गर्नुभएको हो । सशस्त्र प्रहरी बेस क्यामप बरियारपुरका सशस्त्र प्रहरी निरीक्षक ओमप्रकाश ढकालको कमान्डमा सशस्त्र प्रहरीका जवानहरुले झण्डोत्तलनको समयमा सलामी अर्पण गरेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख उपेन्द्रप्रसाद यादबले नेपालको संविधानले सबै जाति, मुस्लिम, आदिवासी जनजाति तथा लोकतान्त्रिक पद्धतिको भावनालाई समेटेको हुँदा उत्कृष्ट रहेको बताउनुभयो ।

संविधान दिवसमा बोल्दै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिजय कुशवाहाले २०७२ को संविधान जारी हुनुमा देशमा भएका विभिन्न आन्दोलन र संघर्षको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

त्यसैगरी संबिधान दिवसको अवसरमा बिश्रामपुर गाउँपालिकाले दौड प्रतियोगिताको आयोजना गरेको छ । गाउँपालिका अध्यक्ष अमिरिलाल पालले दौड प्रतियोगिताको उदघाटन गर्दै दौडले मानसिक र शारीरिक बिकासमा सहयोग पुग्ने बताउनुभयो । त्यसैगरी संविधान दिवसमा बिभिन्न स्थानीय तहहरुमा सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो ।

यसैबीच लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बाराले २०७२ संविधान खारेजीको माग गर्दै सिम्रौनगढ र कलैयामा बिरोध कार्यक्रमको आयोजना गरेको छ । जसपाले असोज ३ गतेलाई कालो दिनको रुपमा मनाएको हो ।

Leave a Reply