कलैया,बाराको करैयामाई गाउँपालिकामा १८ वर्षीय नेपाली नाबालिकाको विवाह गर्ने तयारी भइरहेको अवस्थामा प्रहरीले एक चिनीयाँ नागरिकसहित बुधवार राति ३ जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।करैयामाई गाउँपालिका– १ हरैया टोलमा एक नाबालिका विदेसी नागरिकसंग विवाहको तयारी भइरहेको भन्ने सूचनाको आधारमा विवाहा घरमा पुगेको प्रहरी टोलीले छापा मारेर राति १०ः३० बजे चीनको गान्सु प्रान्त बस्ने अनि बालुबाको छोरा वर्ष २२ को नियु युबिन, करैयामाई १ हरैया टोल बस्ने जाकिर हुसैन देवान र एक किशोरीलाई नियन्त्रणमा लिएको हो ।
चिनिया नागरिकलाई बेहुला र किशोरीलाई बेहुली बनाएर विवाहा गर्न लागिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक प्रकाश खड्काको कमाण्डमा प्रहरी चौकी मधुवन बाराबाट प्रहरी सहायक निरीक्षक शम्भुप्रसाद यादवसमेतको टोलीले बेहुलीका बुबा देवानलाई समेत नियन्त्रणमा लिएर नाबालिकाको उद्धार गरेको हो ।
बेहुला बालुवा पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागरिक हुन ।पक्राउ परेकाहरुलाई बारा जिल्ला अदालतमा पेस गरी ५ दिनको म्याद लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
नेपालको कानुनअनुसार विवाहका लागि पुरुषको २२ र महिलाको २० वर्ष उमेर पूरा हुनुपर्ने प्रावधान छ । तर विवाहा गर्ने तयारीमा रहेकी कशोरीको उमेर १८ वर्ष मात्रै भएकाले आवश्यक कारबाहीको लागि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) विजय राज पण्डितले जानकारी दिनुभयो ।
करैया गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष सोनालाल साहका अनुसार हरैया गाउँ र आसपासका मुस्लिम बस्तीहरूमा पछिल्ला केही वर्षयता चिनियाँ नागरिकसँग नेपाली युवतीहरूको विवाह हुने क्रम बढ्दो छ । गत एक वर्षमा मात्रै सोही बस्तीमा कम्तीमा तीन वटा यस्तै विवाह भइसकेको स्थानीयले बताएका छन् ।
















