निजगढ,मधेस प्रदेश लागु औषध कारोबारीहरुको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै आएको छ । पछिल्लो समय लागु औषध कारोबारी पक्राउ परेको तथ्याङ्कले पनि यस प्रदेश लागु औषधको ‘ट्रान्जिट प्वाइन्ट’ का रुपमा प्रयोग हुँदै आएको देखिएको हो ।
मधेस प्रदेशमा रहेका आठ जिल्लामा लागु औषधको कारोवार बढ्दै गइरहेको छ । मधेस प्रदेशमा पर्ने पूर्व–पश्चिम लोकमार्ग, हुलाकी र अन्य खडक हुँदै सिधै भारतसंग सहजै पहुज रहेका करिब २२० किमी सडक खण्ड ओगटेको यस प्रदेशको राजमार्ग हुँदै लागु औषध ओसारपोसार हुने गरेको छ ।
मुलुकको प्रमुख आर्थिक नगरी तथा प्रवेश द्वारको रूपमा चर्चिते पर्सा जिल्लामा सबैभन्दा बढी लागु औषधको मुद्दा दर्ता हुने गरेको छ भने सबैभन्दा कम रौतहटमा लागु औषधको मुद्दा दर्ता भएको पाइएको छ । तीन वर्षको अवधिमा मधेसमा लागु औषधको मुद्दा वृद्धि भइरहेको मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरको तथ्यांकले देखाएको छ ।
मधेस प्रदेशमा एक वर्षमा करिब एक हजार लागु औषधको मुद्दा दर्ता भएका छन । प्रदेशमा दर्ता हुने कूल मुद्दा मध्ये लागु औषधको मुद्दा पाँचै स्थानमा रहेको छ भने प्रहरीले लागु औषध प्रयोगकर्ता पक्राउ गर्ने क्रमले पनि प्रदेशमा लागु औषध प्रयोगकर्ता बढिरहेको देखाएको छ ।
यस प्रदेशका सीमावर्ती क्षेत्र भारत राज्यको बिहार बजारसंग रहेको हुदाँ भारतबाट लुकाइछिपाई लागु औषध भित्र्याउने र यहाँबाट राजधानी काठमाण्डौंलगायत मुलुकका विभिन्न ठाउँमा आपूर्ति हुँदै आएको छ ।नेपालबाट भने यस प्रदेश हुदैँ ठुलो परिणाममा गाँजा भारत लगिने गरेको पाईएको छ । गाँजाका निम्ती यस प्रदेशको बारा, पर्सा, रौतहट निकै प्रख्यात छन । यी जिल्लालगायत बागमती प्रदेशको मकवानपुरबाट समेत ठुलो मात्रामा गाँजा भारतमा भित्रनी गरेको छ ।
नेपालमा प्रतिबन्धित लागु औषधहरू भारतका सीमावर्ती बजारहरूमा खुलमखुला रूपमा खरिद बिक्री हुनु र खुला सीमाका कारण यसको कारोबारमा नियन्त्रण गर्न प्रहरीलाई समेत टाउको दुखाइ बनेको छ । जसका कारण यस प्रदेशका बजारमा लागु औषध सेवनकर्ता र कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको हो ।
भारतीय सीमावर्ती विभिन्न बजार क्षेत्रका केही किराना, औषधि पसल तथा झुपडीहरूमा अरू औषधि सरह सहजरूपमा प्रतिवन्धित लागु औषध पाइने गरेको प्रहरीकै भनाई छ ।यसबाट सेवनकर्ताको संख्यामा वृद्धि भई स्थानीयस्तरमा आपराधिक मनोवृत्ति हाबी हुँदै गएको उनीहरूको बुझाई रहेको छ । राज्यका तिनैवटा तहबाट लागु औषध सम्बन्धित जनचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने गौरीशंकर माविका पूर्व प्रधानाध्यापक सुदर्शनप्रसाद कोइरालाको भनाई छ । ‘युवादेशको कर्णधार हो, सुन्दर समाजको आधार हो तर दुव्यर्सनका कारण सम्पन्न परिवारको मात्र नभई अन्य धेरै परिवारका, बाबुआमाका सपना बोकेका, समाजका होनहार आशा लाग्दा मान्छेहरु यस्तै लागु औषधको दुव्र्यसनका फसेका युवाहरु साथी संगतको करकापमा सबैभन्दा बडी दुव्र्यसनमा फसेको कारण आफ्नो घर तथा समाजमा विभिन्न घटना निम्ताउने समेत गरेका कारण दुव्र्यसनमा फसेकाहरुलाई पनि सहि मार्ग देखाउन, परामर्श र आत्मबलदिन सुधार गृहरुको प्रभावकारिता अनि समाजसँगको समन्वय अत्यन्त जरुरी भएको छ ।’ कोइरालाले भन्नुभयो ।
यस प्रदेशमा लागु औषधसहित पक्राउ परेका अधिकांशले फेनारगन, डाइजिल्याब, नोफिन, लुपिजेसिक, नाइट्राजेपाम, नाईट्रोसन, कोरेक्स, नाइट्राभेट, स्पास्मो पेरिमोन, डाइलेक्स डीसी र गाँजासमेत बरामद गरिएको थियो ।प्रहरी तथ्यांकअनुसार मधेसको बजार क्षेत्रमा अवैध लागू औषधको कारोबार बढ्दो छ । आर्थिक वर्ष २०७८-७९ मा एक हजार दुई सय ८५ जनालाई लागु औषधसहित पक्राउ गरी उनीहरू मुद्दा चलाइएको थियो । सो आर्थिक वर्षमा नौ सय बाईसवटा लागु औषधका मुद्दा दर्ता भएका थिए ।त्यसैगरी आर्थिक वर्ष २०७९÷८० मा एक हजार तिन सय ४ जनालाई पक्राउ गरी लागु औषध मुद्दा दर्ता गरिएको थियो । सो आर्थिक वर्षमा नौ सय सैतीस वटा लागु औषधका मुद्दा दर्ता भएका थिए । यस्तै चालु आर्थिक वर्ष २०८०÷८१ को बैशाखसम्ममा नौ सय छब्बीस जनामाथि लागु औषध मुद्दा चलाइएको छ । यस आर्थिक वर्षको बैशाख सम्ममा ६ सय उनन्साठी वटा लागु औषधका मुद्दा दर्ता भइसकेका छन ।
भरतीय सीमावर्ती क्षेत्र बजारबाट नाईट्रोसन, कोरेक्स, नाइट्राभेट, ब्राउनसुगर लगाउतका लागु औषध लुकाइछिपाई नेपाल भित्र्याउने र नेपालबाट गाँजा, चरेस, अफिमलगायतका लागु औषध लुकाइछिपाइ भारत जाने गरेको पाईएको हुँदा प्रहरीले शुन्य सहनशीलताका सहित कार्य गरोको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।लागु औषध नियन्त्रणका लागि प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयहरुले लागु औषध कारोबारमा संलग्नको खोजी कार्य तीव्र पारेकै कारण हाल पक्राउको सख्या बढेको भएता पनि मधेसमा पहिलाको तुलानामा लागु औषध कारोबारमा निकै कमी आएको मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक सुबासचन्द्र बोहराले बताउनुभयो ।प्रहरीले रात्रिकालीन बसबाट बढी मात्रामा लागु औषध ओसारपसार हुने गरेकोले रात्रिकालीन जाँचको क्रमलाई तीव्र पारिएको जनाएको छ ।लागु औषध नियन्त्रणका लागि प्रदेस प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतले लागु औषधको कारोबार न्यूनीकरणका लागि सचेतना कार्यक्रम समेत सञ्चालन गदै आएको छ । प्रदेशमा बढी मात्रामा ट्याब्लेट, इन्जेक्सन र गाँजा जस्ता लागु औषधको प्रयोग हुने गरेको तथ्याङ्कले देखाउँदछ ।


















