पुष्पराज खतिवडा
मनहर्वा,जिल्ला सुरक्षा समितिले जिल्लाका ३०३ मतदान स्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी ३ प्रकारले वर्गिकरण गरेको छ ।
कुल मतदान स्थलहरु मध्ये १४४ वटालाई अतिसंवेदनशील, १०८ वटालाई संवेदनशील र ५१ वटालाई समान्यमा वर्गिकरण गरिएको बाराका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।
जिल्लामा ३०३ मतदान स्थल र ५४१ वटा मतदान केन्द्र छन् । यी मतदान स्थल अन्तरगत रहेका २५६ वटा मतदान केन्द्रलाई अतिसंवेदनशील मानिएको र सुरक्षा समितिले १९९ लाई संवेदनशील र ८६ मतदान केन्द्रलाई सामान्य निर्धारण गरेको उहाँले बताउनुभयो ।
समितिले विशेषगरी भारतीय सिमासँग जोडिएका पालिकाहरुका १४४ मतदान स्थलका २५६ केन्द्रहरुलाई अतिसंवेदनशिल मानेको छ । अतिसंवेदनशिल मानिएका पालिकाहरुका कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका, सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका रहेका छन् । यस्तै अतिसंवेदनशील मतदान स्थल निर्धारण गरिएका गाउँपालिकाहरुमा फेटा, स्वर्ण, देवताल, आदर्शकोतवाल, प्रसौनी र विश्रामपुर भएको डिएसपी थापाले जानकारी दिनुभयो ।
यी पालिकाभित्र रहेका १८४ मतदान स्थलमध्ये १३८ लाई अतिसंवेदनशील मानिएको छ । यस्तै जीतपुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकाका ३÷३ स्थललाई पनि सुरक्षा समितिले अतिसंवेदनशील मानेको नायव उपरीक्षक थापाले जानकारी दिनुभयो ।
अतिसंवेदनशील र संंवेदनशील क्षेत्रमा सामान्य स्थानको तुलनामा सुरक्षाकर्मीको संख्या थप गरी गस्ती बढाएर सावधानी अपनाइने बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिनुभएको छ । निर्वाचनको सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र म्यादी प्रहरी खटिने उहाँले बताउनुभयो ।