कृष्ण मोहन साह
सेढवा – ठोरी गाउँपालिका वडा नं ३ बुद्धनगरमा शनिबार बिहान करिव ८ बजेको समयमा परेको चट्याङले गोपाल श्रेष्ठको २ वटा भैंसीको ज्यान गएको छ । बुद्धनगरको तल्लो टोलमा रहेको पिपलको बोट नजिकै बाँधेर राखिएको अवस्थामा चट्याङ पर्दा २ वटा भैंसीको ज्यान गएको वडा नं ३ का वडाध्यक्ष सुर्य बहादुर लामाले जानकारी दिएका छ्न् ।
३ वटा भैंसी र एउटा राँगो रहेको श्रेष्ठको एकलाख भन्दा बढी क्षति पुगेको स्थानीय मणि घिमिरेले बताए । एकास्सी परेको चट्याङ गोठ नजिकै रहेको पिपलको बोटलाई लक्षित गरि परेको चट्याङले २ वटा भैसीको ठाउँकोठाउँ मृत्यु भएको पीडित परिवारले जनाएको छ ।
घटनाको हल्ला भएपछि घटना स्थलमा पुगेका सीमा प्रहरी कार्यालय ओडारका प्रहरीले वडाध्यक्ष लामा तथा स्थानीयहरुको रोहवरमा मुचुल्का उठाएको स्थानीय रुद्र खड्काले जानकारी दिएका छन् । पीडित परिवारलाई वडाध्यक्ष लामाले क्षतिपूर्तिको माग गर्दै वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा निवेदन दिन भनेका छ्न् भने क्षतिपूर्तिको लागि आफुले सक्दो सहयोग गर्ने समेत पीडित परिवारलाई वडाध्यक्ष लामाले आश्वासन दिएका छ्न् ।