काठमाण्डौं,माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे । श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए । रोमान्चक बनेको खेलको ३३ औं मिनेटमा सुमनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । उनको यो नेपालका लागि डेब्यु गोल हो ।
खेलको ४६ औं मिनेटमा २५ यार्ड टाढाबाट अन्जनको फ्रिकिक श्रीलंकाका गोलकिपर तथा कप्तान सुजन परेराले डाइभ हान्दै मुश्किलले बचाए । ५१ औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । खेलको ५७ औं मिनेटमा श्रीलंकाका काभिन्दु इशानको प्रहार नेपालका डिफेन्डर सुमन अर्यालले गोललाइनबाट बचाए । तर, ह्यामिल्टनले ५७ औं मिनेटमा २५ यार्ड टाढाबाट गोल गर्दै श्रीलंकालाई २–१ को स्थितिमा ल्याए । खेलको ६७ औं मिनेटमा आयुसले गोलको अवसर खेर फालेका थिए । मनिष डाँगीको पासमा उनको प्रहार श्रीलंकाका गोलकिपर सुजनले बचाए । खेलको ७४ औं मिनेटमा मनिष डाँगी गोलकिपरसँग वान भर्सेस वानको स्थितिमा गोल गर्न । लगत्तै ७५ औं मिनेटमा अन्जनको क्रसमा अनमार्क रहेका आयुसको हेड प्रहारले पोस्टको दिशा लिन सकेन । खेलको ७७ औं मिनेटमा श्रीलंकाका डी सिल्भाको प्रहार नेपालका गोलकिपर तथा कप्तान किरण चेम्जोङले बचाए । ८६ औं मिनेटमापरिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका युसले गोल गर्दै नेपाललाई ३–१ को अग्रता दिलाए । उनको यो नेपालका लागि पहिलो गोल हो ।
त्यसपछि खेलको इन्जुरी समयमा डी सिल्भाले पेनाल्टीमा एक गोल गरेपनि नेपालले ३–२ को महत्वपूर्ण जित निकाल्यो । यस जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले २ खेलमा ६ अंक जोडेको छ । लगातार दोस्रो जितपछि नेपाल फाइनल नजिक पुगेको छ ।
नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको थियो । श्रीलंकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंका बंगलादेशसँग १–० ले पराजित भएको थियो । लगातार दुई हार व्यहोरेको श्रीलंकाको फाइनल यात्रा कमजोर बनेको छ । अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ ।