कलैया,बारा तथा पर्साका लायन्स क्लबहरुले वीरगन्जस्थित नारायणी अस्पताललाई १ थान भेन्टिलेटर उपलब्ध गराएका छन् । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको हुँदा अस्पतालमा बेड, आइसियु तथा भेन्टिलेटरको अभाव खट्किदै गएको छ । सोही अभावलाई परिपुर्ति गर्ने अभिप्रायले सम्पुर्ण लायन्स तथा लियो क्लब अफ वीरगन्ज क्षेत्र, कलैया, जितपुर सिमरा र गन्जभवानीपुरमा आवद्ध सबै लायन्स क्लबको सहयोगबाट ७ लाख मूल्य पर्ने १ थान भेन्टिलेटर सोमबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो । लायन्स
क्वबका एरिया चिफ बासुदेव तिमल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख बिजयकुमार सरावगीले नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभ र प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. सञ्ज्य ठाकुरलाई भेन्टिलेटर हस्तान्तरण गर्नुभएको लायन्स क्लबका चेयर पर्सन अनुप अग्रवालले जानकारी दिनुभयो ।
भेन्टिलेटर हस्तान्तरण कार्यक्रम आकाश सर्राफको संयोजकत्वमा भएको हो । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनलका पास्ट इन्टरनेशनल डाइरेक्टर लायन सञ्जय खेतान, पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन रमेश कुमार अग्रवाल, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधकृत प्रदिपकुमार निरौलालगायतको उपस्थिति रहेको लायन्स क्लबका डिस्ट्रिक्ट एड्भाइजर डिएन अग्रवालले जानकारी दिनुभयो । कार्यक्रममा लायनकै देव चौधरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । यसअघि लायन्स क्लबले वीरगन्ज महानगरपालिकामा अक्सिजन बैंकको स्थापना गरिसकेको छ । महामारीको समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक क्रियाकलाप गर्दै आएको लायन अनुप अग्रवालले बताउनुभयो । अक्सिजन बैंकको कोर्डिनेटरसमेत रहनुभएका अग्रवालले आगामी दिनमा आवश्यकताअनुसार नारायणी अस्पताल र महानगरपालिकासँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने दृढता व्यक्त गर्नुभयो ।