विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङको पाँच वर्षे कार्यकाल सकिएपछि कोशी प्रदेश १५ दिनदेखि प्रदेश प्रमुखविहीन बनेको छ। संघीय सरकारले अहिलेसम्म नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छैन भने कार्यवाहकको जिम्मेवारीसमेत तोकेको छैन।

प्रदेश प्रमुख नहुँदा प्रदेश सरकारका महत्वपूर्ण संवैधानिक काम प्रभावित भएका छन्। प्रदेशसभाको अधिवेशन नचलेको अवस्थामा सरकारले अध्यादेश ल्याउनसमेत सकेको छैन। यस्तै, सत्तारुढ नेकपा एमालेभित्र मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई परिवर्तन गर्ने विषयमा भइरहेको छलफल पनि अन्योलमा परेको छ।

प्रदेश प्रमुखले मुख्यमन्त्री तथा मन्त्री नियुक्ति, शपथ ग्रहण, अध्यादेश जारी र विधेयक प्रमाणीकरणलगायत संवैधानिक जिम्मेवारी निर्वाह गर्ने भएकाले पद रिक्त हुँदा समस्या भएको एमाले नेताहरूले बताएका छन्।

राष्ट्रपति कार्यालयका अनुसार नयाँ प्रदेश प्रमुख नियुक्ति वा कार्यवाहक तोक्न मन्त्रिपरिषद्को सिफारिससहित कुनै पत्र प्राप्त भएको छैन।

संविधानअनुसार प्रदेश प्रमुखको पद रिक्त भएमा राष्ट्रपतिले अर्को प्रदेशका प्रदेश प्रमुखलाई समेत उक्त प्रदेशको कामकाज गर्ने गरी तोक्न सक्ने व्यवस्था छ। तर, यसका लागि मन्त्रिपरिषद्को सिफारिस आवश्यक पर्छ।

यसैबीच, नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जनाको नाम सिफारिस गरेको चर्चा भए पनि पार्टीको कोशी प्रदेश नेतृत्वले त्यसको खण्डन गरेको छ।

Leave a Reply