नरेश गुप्ता

बरियारपुर,जिल्ला प्रशासन कार्यालय बाराले जिल्लामा मास्क नलगाउने जो सुकैलाई पनि कारबाही गर्ने भएको छ । कलैयामा बुधबार बसेको जिल्ला स्तरीय कोभिड– १९ संकट व्यवस्थापन समितिले मास्क नलगाउने व्यक्तिलाई संक्रामक रोग ऐन बमोजिम कारवाही गर्ने निर्णय गरेको हो । भारतमा कोरोना भाइरसको संक्रमण र मृत्यु दर बढेपछि बारा जिल्ला पनि भारतसंग खुल्ला सिमा नाका जोडिएको जिल्ला भएका कारणले उच्च जोखिममा रहेकाले यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । बैठकले सक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा आएका क्वारेन्टिन, आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्रहरुवाट प्रदान गरिने सेवालाई अझ प्रभावकारी बनाउन आवश्यक तयारी गर्ने निर्णय पनि गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाराद्वारा जारी विज्ञप्तिमा कोभिड– १९ संक्रमण थप फैलन नदिन विद्युतीय माध्यमबाट चेतनामुलक सन्देश प्रशारण गर्ने, स्वास्थ्य परीक्षण गराई संक्रमणको अवस्था पहिचान गर्ने उल्लेख छ । यसका साथै बाराको नाका हुदै भारतबाट आउने यात्रुहरुको आवतजावतलाई व्यवस्थित गरी अनिवार्य रुपमा अभिलेख राख्ने र नेपाल प्रवेश गर्ने यात्रुहरुलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराएर मात्र प्रवेश गर्न दिने निर्णय पनि कोभिड–१९ संकट व्यवस्थापन समिति बाराले निर्णय गरेको छ ।

Leave a Reply