निजगढ,बाराको कलैया उपमहानगरपालिका– २४ श्रीपुर बेलवाडीस्थित पिलुवा–कलैया सडकखण्डमा सोमवार दिउँसो मोटरसाइकल दुर्घटनामा निजगढका एक युवकको ज्यान गएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन ।
पिलुवाबाट कलैयातर्फ जादैगरेको प्र ०२–०३–०१८ प ३६९५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको प्रदेश २–०३–०१ त २६७६ नम्बरको इट्टा लोड ट्याक्टरले ठक्कर दिँदा दिउसो २ः४० मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट मोटरसाइकल चालक निजगढ नगरपालिका– ९ ठाडोलाइनका ३६ वर्षीय मिलन मैनाली गम्भीर घाइते भएका थिए । उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा मैनालीको उपचारको क्रममा दिउसो करिव ३ः१५ बजे चिकित्सकहरुले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । त्यस्तै, सोही मोटरसाइकलमा सवार निजगढका ९ का २७ वर्षीय रबिन भट्टराई घाइते भएका छन । उनको दाहिने खुट्टामा चोट लागेको छ ।
दुर्घटनामा परेको मोटरसाइकल र ट्याक्टर दुवै प्रहरी चौकी जैतापुरको नियन्त्रणमा राखिएको छ । तर ट्याक्टर चालक फेटा गाउँपालिका– ३ फेटाका ३३ वर्षीय सर्फुदिन देवान भने फरार रहेको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

Leave a Reply