नरेश गुप्ता
बरियारपुर,स्थानीय तह निर्वाचनको प्रचारप्रसारको मंगलबार अन्तिम दिन विभिन्न स्थानीय तहमा मोटरसाइकल र्यालीको आयोजना गरिएको छ ।
निर्वाचन आयोगको कार्यालयले बैशाख २७ गते मध्यरातदेखि मौन अवधि शुरु हुने जानकारी गराएको छ ।
मौन अवधि शुरु भएपछि कुनै पनि राजनीति दलका प्रतिनिधिले आफ्नो पार्टीको झण्डा लिएर प्रचारप्रसार, जुलुस, नारा गर्न नपाइने भएकोले स्थानीय तहमा मंगलबार साँझसम्म पनि मोटरसाइकल र्यालीको आयोजना गरिएको थियो ।
महागढीमाई नगरपालिकामा नेपाली कांग्रेसले निकालिएको बृहतले र्याली नगर परिक्रमा गरेको थियो । त्यसैगरी जसपा नेपाल र एकीकृत समाजवादी पार्टीले महागढीमाई नपा १ र २ मा घरदैलो कार्यक्रम आयोजना गरेको छ ।
त्यसैगरी नेकपा एमाले पनि महागढीमाई नपा ५ स्थित नगरदाहा, बगडमपुर, गंजभवानिपुर लगायतको क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरी चुनाव प्रचारप्रसारको मंगलबार अन्तिम दिन जसपा नेपाल पचरौताले पनि मोटरसाइकल र्यालीको आयोजना गरेको छ ।
चुनाव प्रचारप्रसारको अन्तिम दिन उम्मेदवारहरु घरदैलो, र्याली र मतदाताहरुसंग भेटघाटमा व्यस्त देखिएका थिए । स्थानीय तहको निर्वाचन बैशाख ३० गते शुक्रबार हुने भएकोले चुनावलाई शान्तिपुर्ण, भयरहित, मर्यादित बनाउन सबैले सहयोग गर्न बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले आग्रह गर्नुभएको छ ।
स्थानीय चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरीसहित शान्ति सुरक्षाको व्यवस्थापन गरिएको प्रजिअ कटुवालले जानकारी दिनुभयो ।