काठमाण्डौं,नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ ।केन्द्रीय तथ्यांक विभागले २०७८ सालमा गरेको जनगणनाको शुक्रवार सार्वजनिक गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको जनसंख्याको पूरा विवरण शुक्रबार सार्वजनिक गर्नुभएको हो । प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जना रहेको छ ।जनगणना २०७८ अनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख ११ हजार २७ र पुरुषको जनसंख्या एक करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ । पुरूषको जनसंख्या महिलाको भन्दा ६ लाख ५७ हजार कम रहेको छ । नेपालमा हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ । नेपालको १२ औं चरणको जनगणना २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म गरिएको थियो ।यसैबीच नेपालमा १० वर्ष भन्दा बढी उमेर भएका २ करोड ३९ लाख ५८ हजार ८६८ जनामध्ये ३७.५ प्रतिशत नागरिक कुन पनि आर्थिक काममा संलग्न नभएको पाइएको छ । जसमध्ये यस्तो संख्या सबैभन्दा धेरै मधेशमा रहेको पाइएको छ ।राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेशमा कुनै पनि आर्थिक कार्यमा संलग्न नहुने नागरिक ४६.५ प्रतिशत रहेको छ । कुनै पनि आर्थिक कार्यमा संलग्न नहुने नागरिकमध्ये ३८.३ प्रतिशत नागरिक बागमती प्रदेशका छन् ।यस्तै लुम्बिनीमा ३७.२ प्रतिशत, गण्डकीमा ३७ प्रतिशत, सुदूरपश्चिममा ३२.२ प्रतिशत, कोशीमा ३१.३ प्रतिशत, कर्णालीमा ३०.८ प्रतिशत नागरिक कुनै पनि आर्थिक कार्यमा संलग्न नभएको तथ्यांकमा उल्लेख छ ।जनगणनाअनुसार १० वर्ष वा सोभन्दा माथिका २ करोड ३९ लाख ५८ हजार ८६८ जना व्यक्तिहरु मध्ये १ करोड ४९ लाख ८३ हजार ३१० जना (६२.५ प्रतिशत) ले भने जनगणना भएको १२ महिना अगाडिको समयमा कुनै न कुनै आर्थिक काम गरेको देखिन्छ । जसमध्ये ४१ प्रतिशतले ६ महिना वा सोभन्दा बढी समय काम गरेको, २१.५ प्रतिशतले ६ महिनाभन्दा कम समय काम गरेको र ३७.५ प्रतिशतले कुनै पनि काम नगरेको देखिन्छ ।


















