वीरगन्ज,वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले बालबालिकाले सुरक्षित हिसाबले पढ्न नपाए दीर्घकालीन असर पर्ने बताउनु भएको छ । वीरगन्जमा आइतबार शिक्षा पत्रकार समाज र आसमान नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘विद्यालयमा सुरक्षित सिकाइ’ विषयक अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख सरावगीले विशेष गरी सामुदायिक विद्यालयका बालबालिकाहरु सुरक्षित नरहेको बताउनुभयो ।

बालबालिका पहिला आफनै परिवारबाटै पीडित रहेको भन्दै उहाँले विद्यालयमा उजुरी पेटिका राखिएको तर ती उजुरी पेटिकामा एक जनाको पनि उजुरी नपरेकाले यसको यसको मतलब विद्यार्थीहरु विद्यालयमै शिक्षक शिक्षिकाबाट पनि डराएको हुन सक्ने बताउनुभयो । नगरप्रमुख सरावगीले शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश र संघ सरकारले स्थानीय तहसँगै समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । वीरगन्ज महानगरपालिकाले शिक्षामा वार्षिक ६ करोेड रुपैया खर्च गरिरहेको भन्दै सरावगीले आवश्यक परे २० करोड पनि खर्च गर्न सकिने बताउनुभयो । वीरगन्ज महानगरपालिकाले शिक्षामा विशेष ध्यान दिएको बताउँदै उहाँले सुरक्षित सिकाइको वातावरण बनाउन आवश्यक कदम चाल्ने बताउनुभयो । कार्यक्रममा पोखररिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले विद्यालयमा सुरक्षित सिकाईका लागि सरोकारवाला एक हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागी पर्सा जिल्लाका पालिकाहरुका शिक्षा समितिका पदाधिकारी, शिक्षा शाखा अधिकारी, जनप्रतिनीधिहरुले सुरक्षित सिकाइका लागि आफूहरु गम्भिर रहेको बताएका थिए । सुरक्षित सिकाइ कार्यक्रम पर्सा, सर्लाही, लमजुङ्ग र सुर्खेत जिल्लाका गरी २७ पालिका र ६९ वटा विद्यालयमा सञ्चालनमा रहेको आस्मान नेपालका डाक्टर विरेन्द्र सिंहले जानकारी दिनुभयो । विद्यालयमा सुरक्षित सिकाइका लागि विद्यमान समस्याहरु के के छन र त्यसलाई नीति नियममा कसरी समावेश गर्ने भन्ने विषयमा कार्यक्रममा चर्चा गरिएको आसमान नेपालको पर्सा जिल्ला संयोजक मुन्नीलाल बैठाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here