सिमरा,यस वर्षको ‘सुवोध स्मृति फोटो पत्रकारिता पुरस्कार’ बाराका फोटो पत्रकार दिवाकर भण्डारीलाई प्रदान गरिएको छ । प्रतीक प्रकाशन समूह प्रालिले स्थापना गरेको ‘सुवोध स्मृति फोटो पत्रकारिता पुरस्कार’ भण्डारीलाई प्रदान गरिएको हो ।
प्रतीक दैनिक पत्रिका प्रकाशनको ३५ औं बार्षिक उत्सवको अवसरमा नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा मंगलबार आयोजित पुरस्कार वितरण समारोहमा कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले फोटो पत्रकार भण्डारीलाई नगद ३५ हजार राशी सहित दोसल्ला र प्रमाण पत्रले सम्मान गर्नुभएको हो ।
यस्तै प्रतीक दैनिकले उत्कृष्ट कामको मूल्यांकन गर्दै पत्रिकाका सम्पादक खड्गबहादुर श्रेष्ठ ‘प्रताप’लाई नगद १५ हजार, स्तम्भकार शितल महतोलाई नगद १० हजार र कर्मचारी महेश रामलाई नगद ५ हजार रुपैयाबाट सम्मान गरेको छ । पुरस्कार वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले पत्रकारिता न्यायधीशले जस्तो आदेश र फैसला गर्ने नभइ अन्यायको विरुद्धमा बोल्ने, अनियमतिता भ्रष्टाचारको विरुद्ध र सुशासनको बारेमा बोल्ने हुनुपर्ने बताउनुभयो ।
पछिल्लो समयमा वीरगन्जको पत्रकारितामा आफै न्यायधीश बन्न खोज्ने प्रवृत्तिले पत्रकारिताको मूल्य, मान्यता र मर्यादालाई कमजोर बनाएको भन्दै सरावगीले समाजलाई सकारात्मक दिशातर्फ डो¥याउन सञ्चार क्षेत्र थप जिम्मेवार हुनुपर्ने बताउनुभयो । हजारौं शब्दबाट व्यक्त गर्न नसकिएका आवाजहरु एउटा तस्वीरको माध्यमबाट प्रष्ट गर्न सकिने बताउदै उहाँले फोटो पत्रकारिताको समाजमा छुट्टै महत्व रहेको पनि बताउनुभयो । उहाँले फोटो, समाचारको एउटा सबुत प्रमाण समेत भएको पनि बताउनुभयो । जनप्रतिनिधिको रुपमा आएपछि आपूmलाई प्रतीक दैनिकले गल्ती कमजोरी औंल्याईदिएर सुझाव दिने र राम्रो गर्दा प्रशंसा गरेको पनि उहाँले बताउनुभयो ।
प्रतीक प्रकाशन समूहकी अध्यक्ष विन्दु शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, वीरगन्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष हरि गौतम, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, नेपाल फोटो पत्रकार महासंघ पर्साका अध्यक्ष विजय महतो लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सम्पादक प्रतापले गर्नुभएको थियो ।


















