सर्लाही,मकवानपुरको सिस्नेरीमा पहिरोमा परेर मृत्यु भएका युवा फुटबल खेलाडी आदित्य बलम्पाकीको शव पाँच दिनपछि बुधवार सर्लाहीको रानीगंजस्थित घरमा ल्याएर अन्त्येष्टि गरिएको छ ।पोष्टमार्टमपछि बुधवार पाँचौं दिनमा आदित्यको शव लालबन्दी नगरपालिका– १७, रानिगन्जस्थित घर ल्याएर अन्त्येष्टि गरिएको हो । आदित्यको शव मंगलवार नै एन्फाले व्यवस्थापन गरेको हेलिकप्टरमा राखेर घर ल्याउने प्रयास गरिएको थियो । तर खराब मौसमका कारण काठमाडौंबाट शव बोकेर उडेको हेलिकप्टर सर्लाहीसम्म आउन नसकेपछि रामेछापमा अवतरण गराएर शव त्यहीँ राखिएको थियो ।

बुधवार पुनः सोही हेलिकप्टरमा राखेर शव सर्लाही ल्याउने प्रयास गरिएको भएपनि दिनभर जसो लागेको हुस्सु र कुहिरोले मौसम प्रतिकूल बनेपछि दिउँसो जनकपुर विमानस्थलमा अवतरण गराइएको थियो । जनकपुरबाट गाडीमा ल्याइएको आदित्यको शव रानिगन्जदेखि शवयात्रा गर्दै बागमती नदीमा पु¥याएर अन्त्येष्टि गरिएको हो । एन्फाको लापरबाहीले आदित्यको मृत्यु भएको भन्दै रानिगन्जका स्थानीयले सोमबार दिउँसो पूर्व–पश्चिम राजमार्गस्थित रानिगन्जमा दुई घन्टा चक्काजाम गरेका थिए ।
केही समयअघि मात्रै टिपरको ठक्करबाट अर्का एक छोरा गुमाएको बलम्पाकी परिवार आदित्यको मृत्युपछि जप विक्षिप्त बनेको छ । यस घटनापछि रानिगन्जका स्थानीय पनि शोकाकुल बनेका छन् ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सिस्नेरीस्थित बत्सला माध्यमिक विद्यालयमा राखेर प्रशिक्षण गराइरहेको १४ वर्षमुनिका आदित्यसहित ६ जना फुटबल खेलाडीको गएको शनिवार पहिरोमा परेर मृत्यु भएको थियो ।

















