काठमाडौं ः नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढीले सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोगका कारण ज्यान गुमाउने गरेको बताइन्छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०१८ मा सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगका कारण लाग्नेबाट हरेक वर्ष २७ हजार १३७ जनाले ज्यान गुमाउने गरेको पाइएको हो । यो सङ्ख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो ।

तर विकास अनुसन्धान प्रतिष्ठानले हालै सार्वजनिक गरेको एक तथ्यांकले भने एक वर्षमा नेपालमा ३७ हजार ५०० भन्दा बढीको सुर्तीजन्य पदार्थको कारणले मृत्यु हुने गरेको देखाएको छ । वासिङ्टन विश्वविद्यालय अन्तर्गतको स्वतन्त्र, आधिकारिक र विशेषज्ञ स्वास्थ्य अनुसन्धान संस्था, हेल्थ मेट्रिक एण्ड इभ्यालुएसनद्वारा संकलन र विश्लेषण गरिएको उक्त तथ्यांकमा २०२० देखि २०५० सम्ममा १,३४०,००० नेपालीले सुर्तीजन्य पदार्थका कारण ज्यान गुमाउने अनुमान गरिएको छ । तथ्यांकअनुसार सन् २००० मा २५,३०० भन्दा कम रहेको संख्या २०१९ मा आइपुग्दा ३७,५०० भन्दा बढी हुन पुगेको छ।

सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने मृत्युको संख्या सन् १९९० देखि वर्षैपिच्छे बढ्दै गएको र विशेष गरी सन् २००० देखि द्रुत गतिमा बढेको तथ्यांकमा उल्लेख छ । प्रतिवेदनले नेपालमा कुल मृत्युको करीव २० प्रतिशत सुर्तीजन्य पदार्थको कारण भएको उल्लेख छ। यस्तै प्रतिवेदनले नेपाल सुर्तीजन्य पदार्थबाट सबैभन्दा बढी दरमा मृत्यु हुने दक्षिण एशियामै पहिलो बनेको छ। मृत्युदरमा नेपालले भारतलाई समेत उछिनेको छ ।

३० वर्षअघि नेपालमा सुर्तीजन्य पदार्थबाट हुने मृत्युदर श्रीलंकाभन्दा कम थियो तर हाल भने दोब्बरले बढी भएको उल्लेख छ ।

अहिलेकै अवस्था निरन्तर रहे सन् २०५० सम्ममा १३ लाख ४० हजार नेपालीको सुर्तीजन्य पदार्थको सेवनकै कारण ज्यान जाने दाबी गरिएको छ । त्यो भनेको वार्षिक ५२ हजारभन्दा बढी हो प्रतिवेदनमा नेपाल सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर तिर्ने दक्षिण एशियाको देश बनेको उल्लेख छ । नेपालमा सुर्तीजन्य पदार्थको करको दर ४१ प्रतिशत मात्रै भएको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाल जस्तो मुलुकले करको दरलाई कम्तीमा ७५ प्रतिशत पु¥याउन भने पनि कम कर हुँदा सुर्तीजन्य पदार्थ सस्तोमा पाउने र प्रयोगकर्ताहरु बढी हुने देखिएको छ । प्रतिवेदनमा सुर्तीजन्य पदार्थमा सबैभन्दा बढी कर तिर्ने मुलुक श्रीलंका रहेको बताइएको छ । श्रीलंकामा सुर्तीजन्य पदार्थमा ७७ प्रतिशत कर लगाइएको छ। यस्तै छिमेकी मुलुक भारतले सुर्तीजन्य पदार्थमा ५८ प्रतिशत कर लगाएको उल्लेख छ । यसरी विभिन्न समयमा भिन्न भिन्न संस्थाहरूले गरेको अनुसन्धानको रिपोर्टले नेपालमा पछिल्लो वर्षहरुमा सुर्तीजन्य पदार्थको सेवनले हुने मृत्यु बढ्दै गएको देखाएको छ ।

केही वर्ष अघिसम्म नेपाल विभिन्न प्रकारका सरुवा रोगका कारण जोखिममा परेको पाइने गर्थे। तर पछिल्लो वर्षहरुमा सरुवा रोगले मौसमी रूपमा सताउने गरे पनि स्थायी रुपमा भने अहिले नेपालमा नसर्ने रोगले गुज्रिरहेको छ । त्यसैले नेपालमा पछिल्लो वर्षहरुमा नसर्ने रोगहरुको जोखिम बढ्दै गएको चिकित्सकहरुले बताउने गरेका छन। नेपाल मात्रै होइन अहिले नेपाल जस्ता विकासोन्मुख देशहरु नसर्ने रोगको उच्च जोखिममा पर्ने गरेका छन। यसको विभिन्न कारणमध्ये प्रमुख कारण धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनलाई लिने गरिन्छ । धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनले विभिन्न प्रकारका क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह जस्ता जटिल प्रकारका नसर्ने रोगहरुको जोखिमलाई बढाइरहेको बताइन्छ ।

मुटु र फोक्सोमा अनेक रोग
वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा अरुण सायमीका अनुसार पछिल्लो समय युवा उमेरमा नै मुटुरोग देखिनु प्रमुख कारण नै सुर्तीजन्य पदार्थको सेवनलाई लिने गरिएको छ । प्राडा सायमीले भने ‘केही वर्ष अगाडिसम्म मुटु रोग भन्नेबित्तिकै ४० वर्ष माथिका उमेर समूहलाई धेरै लाग्ने गर्थ्यो तर हाल आएर ४० वर्षभन्दा कम उमेरका अर्थात् युवा उमेर समूहलाई पनि मुटुरोग बढ्दै गएको छ ।

यसको प्रमुख कारण सुर्तीजन्य पदार्थको सेवन हो । युवा अवस्थामा नै मुटुमा समस्या देखिएर अस्पताल आउने बिरामीहरु संग कुरा गर्दा उनीहरुले धेरैले चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइने गरेको छ । आजभोलि धेरै महिलाहरुलाई पनि हृदयाघात हुने गरेको छ यसको प्रमुख कारण सुर्तीजन्य पदार्थको सेवन नै हो । डब्लुएचओकै तथ्यांकलाई सापटी लिने हो भने पनि विश्वमा हरेक वर्ष लगभग ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने गदर्छ। त्यसमध्ये करिब १२ लाख मानिसको ज्यान ‘सेकेन्ड ह्यान्ड स्मोकिङ’ बाट हुँदै आएको छ । अमेरिकन लङ्गस एसोसिएसनका अनुसार चुरोटमा ७ हजारभन्दा बढी विभिन्न प्रकारका हानिकारक रसायन (तत्वहरु) हुन्छन् ।

जसमध्ये सयौँ रसायनहरु स्वास्थ्यका लागि अत्यन्त हानिकारक छन् भने कम्तीमा ७० वटा रसायनहरू क्यान्सर रोगको प्रमुख कारक तत्व हुन् ।

Leave a Reply