सिमरा,दुई दशकदेखि निजी कम्पनीको भोगचलनमा रहेको बाराको डुमरवानास्थित हलखोरिया साझेदारी वनको २९ बिघा जग्गामा शुक्रवारदेखि वृक्षारोपण सुरु गरिएको छ ।नेचुरल हर्बल उद्योग प्रा.लि.ले करिब २० वर्षदेखि उपयोग गर्दै आएको उक्त जग्गामा डिभिजन वन कार्यालयले निजी कम्पनीसँगको सम्झौता खारेज गरेपछि वृक्षारोपणको काम अघि बढेको हो ।
डिभिजन वन प्रमुख राजीवकुमार झाका अनुसार साझेदारी वनका तत्कालीन अध्यक्ष राजकुमार अर्यालले वार्षिक १ लाख २५ हजार रुपैयाँ भाडा आउने गरी करिब ५० बिघा वन क्षेत्र विभिन्न निजी कम्पनीलाई उपलब्ध गराउनुभएको थियो । तर, दुई महिनाअघि मात्र वन कार्यालयले उक्त जग्गा फिर्ता लिई अबदेखि साझेदारी वनको जग्गा निजी कम्पनीलाई भाडामा नदिने निर्णय गरेपछि उपभोक्ता समूहले नेचुरल हर्बल कम्पनीसँगको सम्झौता खारेज गरेको हो ।
हाल सो क्षेत्रमा टिक, सतिससाल, मलेसियन साललगायतका बिरुवा रोपिएका छन् । हलखोरिया साझेदारी वन सन् २०६४ मा उपभोक्ता समूहमा हस्तान्तरण गरिएको थियो ।
वन कार्यालयका अनुसार अतिक्रमणबाहेकको २ हजार हेक्टर वन क्षेत्र उपभोक्ता समूहलाई जिम्मा लगाइएको थियो । हाल उक्त वनमा बाराका करिब ४० हजार घरधुरी र २ लाख ४० हजार उपभोक्ताहरू काठ र दाउराका लागि निर्भर छन् ।साझेदारी वनका अध्यक्ष विकल्प भट्टराईका अनुसार, हलखोरिया क्षेत्रमा करिब ६ सय हेक्टर वन क्षेत्र अनुत्पादक अवस्थामा छ । यस्तै, करिब ५ सय घरधुरीले वन क्षेत्र अतिक्रमण गरेर बसोबास गरिरहेको उहाँले जनाउनुभयो । ‘साउनदेखि अतिक्रमण खाली गराउने प्रक्रिया पनि सुरु हुन्छ,’ अध्यक्ष भट्टराईले भन्नुभयो, ‘यसका लागि विभिन्न निकायहरूमा पत्राचार भइसकेको छ । वैज्ञानिक वन व्यवस्थापन लागू भएका प्लटहरू र खाली रहेको वन क्षेत्रमा यस वर्ष वृक्षारोपणको कार्यक्रम छ ।’

















