कलैया,बाराको फेटा गाउँपालिकाले आर्थिक वर्ष ०८०-०८१ मा गरेको औषधि र स्यानेटरी प्याड खरिदमा व्यापक अनियमितता भएको पाइएको छ ।
पालिकाले औषधि, स्यानिटरी प्याड खरिद गर्दा आवश्यक मापदण्ड पूर्णरूपमा पालना नभएको पाइएको हो । महालेखाको लेखापरीक्षण प्रतिवेदनको बुँदा नम्बर २० अनुसार पालिकाले औषधि खरिद गर्दा वार्षिक आवश्यकता यकिन गरी सोही आधारमा आपूर्ति व्यवस्थापन गर्नुपर्ने व्यवस्था भएपनि त्यसको प्रभावकारी कार्यान्वयन नदेखिएको औल्याएको छ ।
प्रतिवेदनमा उल्लेख भएअनुसार, खरिद गरिएका औषधिहरूमा उत्पादन मिति, म्याद सकिने मिति, ब्याच नम्बर, उत्पादक कम्पनीको नाम लगायतका आवश्यक विवरण स्पष्ट रूपमा अभिलेखीकरण गरेको देखिदैन । साथै, निःशुल्क वितरणका लागि छुट्याइएका औषधिहरूको सूचना समेत पर्याप्त रूपमा उल्लेख नगरिएको बताइएको छ ।
स्रोतका अनुसार आपूर्ति भएका औषधिहरूको म्याद कम्तीमा २ वर्ष बाँकी हुनुपर्ने प्रावधान भए पनि सो मापदण्डको पूर्ण पालना नभएको देखिएको छ । औषधि भण्डारण र दर्ता गर्दा आवश्यक विवरण खुलाउनुपर्ने भए पनि पालिकाले त्यसमा पनि लापरबाही गरेको प्रतिवेदनले औंल्याएको छ ।
यस वर्ष पालिकाले संघीय सशर्त चालु शीर्षकबाट मेडिसेल प्रा.लि. फर्मसँग करिब १४ लाख ३४ हजार बराबरको औषधि खरिद गरेको देखिएपनि उक्त खरिद प्रक्रियामा पारदर्शिता र मापदण्ड पालनामा कमी रहेको महालेखाको प्रतिबेदनले निष्कर्ष निकालेको छ ।
महालेखाको लेखापरीक्षणले औषधि खरिद तथा व्यवस्थापन सम्बन्धी प्रचलित नियमावलीको पूर्ण कार्यान्वयन गर्न र आवश्यक विवरण पारदर्शी रूपमा अभिलेख राख्न फेटा गाउँपालिकालाई ध्यानाकर्षण गराएको छ ।
यसैगरी फेंटा गाउँपालिकाले स्यानेटरी प्याड खरिद प्रक्रियामा समेत आवश्यकताभन्दा बढी खरिद गरिएको तथ्य महालेखाको प्रतिबेदनले औलाएको छ । स्यानिटरी प्याड खरिद तथा व्यवस्थापनमा पनि अनियमितता गरेको पाइएको हो ।कार्यक्रम कार्यान्वयनसँग सम्बन्धित विवरणअनुसार पालिकाले आवश्यकताभन्दा बढी परिमाणमा प्याड खरिद गरेको देखिएको छ ।स्यानिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७६ अनुसार गुणस्तरमा कमी नआउने गरी भण्डारण गर्नुपर्ने र आवश्यकता अनुसार मात्र खरिद गर्नुपर्ने प्रावधान रहेको छ । तर पालिकाले शर्तहरू पालना नगरी एकै पटक ठूलो परिमाणमा खरिद गरी मौज्दात राखेको उल्लेख गरिएको छ ।पालिकाले चालु शैक्षिक वर्षका लागि ४४ हजार ५८० पिस स्यानिटरी प्याड करिब १३ लाख ७८ हजार रुपैयाँमा खरिद गरेको देखिन्छ । तर विद्यालयहरूमा अध्ययनरत छात्राको संख्या र वास्तविक आवश्यकता अनुसार खरिद नगरिएको देखिएकोले खर्च व्यवस्थापनमा त्रुटी देखिएको हो ।यस्तै, खरिद गरिएका प्याडहरू सुरक्षित भण्डारण नगर्दा गुणस्तरमा असर पर्न सक्ने जोखिम पनि औंल्याइएको छ ।
यसले सार्वजनिक स्रोतको सदुपयोगमा प्रश्न उठाएको छ । फेंटा गाउँपालिकाको अध्यक्ष रुस्तम अंसारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलेशकुमार मिश्र, लेखा प्रमुखको मिलोमतोमा औषधि र स्यानिटरी प्याड खरिद प्रक्रियामा व्यापक अनियमितता भएको आरोप लागेको हो ।औषधि र स्यानिटरी प्याड जस्तो शंवेदनशील बस्तु खरिदमा प्रक्रिया मिचेर पालिकाले जनताको स्वास्थ्यसंग खेलवाड गरिएको पाइएको हो ।



















