नरेश गुप्ता
बरियारपुर,नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं पूर्वशहरी बिकास मन्त्री प्रभु साहले समयको मागसंगै आइटि आर्मीको गठन गर्नु परेको बताउनुभएको छ । कलैयास्थित करणराज होटेल पैलेसमा आयोजित आइटी आर्मीको बारा जिल्ला भेलामा बोल्दै पूर्वमन्त्री साहले शनिबार मानव सभ्यताको बिकाससंगै विभिन्न प्रविधिको बिकास भएको छ र सोही अनुरुप समाजमा रहेको विकृति विसंगति, दुराचार र भ्रष्टाचार नियन्त्रण गर्न आधुनिक प्रविधिको प्रयोग गर्ने उद्देश्यले आइटि आर्मी गठन गरिएको बताउनुभयो ।
उहाँले २१ औं शताब्दीको आजको युगमा मानव सभ्यताको बिकाससंगै सूचना प्रविधि र विज्ञान प्रविधिको बिकास र प्रयोग पनि सोही अनुरुप हुनु पर्नेमा जोड दिनुभयो । २१ शताब्दीको नयाँ युगसंगै सबैले नयाँ सोच नयाँ प्रविधिमा आफुलाई पनि ढाल्नु पर्ने नेता साहको भनाइ थियो ।
भेलाले प्रदिप साहको अध्यक्षतामा आइटि आर्मी बारा जिल्ला कमिटी पनि गठन गरेको छ । नेता साहले आइटि आर्मी जिल्ला कमिटीमा चयन हुने सबैलाई बधाई दिनुभएको थियो । यसअघि सयौंको संख्यामा रहेका आइटि आर्मीका कार्यकर्ताहरुले कलैयामा मोटरसाइकल र्याली प्रर्दशन गरेका थिए । आइटि आर्मीले जिल्लाका सबै पालिका तहमा कमिटी गठन गर्ने योजना बनाएको आर्मीका नेता शनी गुप्ताले बताउनुभयो ।