नरेश गुप्ता
बरियारपुर, ६ भदौँ– प्रहरीले बाराको महागढीमाई नगरपालिका वडा नम्बर–७ बेनौलीस्थित सडकबाट शनिबार स्रोत नखुलेको १६ लाख रुपैया बरामद गरेको छ ।
प्रहरी चौकी तेलकुवाबाट खटिएको प्रहरी टोलीले चेकिङ्ग गर्ने क्रममा पश्चिम बेनौली चोकबाट मोटरसाइकलमा आएका अज्ञात व्यक्तिलाई चेकजाँच गर्ने क्रममा निजले बोकेर ल्याएको झोलाबाट सो परिमाणको रकम बरामद भएको प्रहरीले बताएको छ । मोटरसाइकल रोकेर रोकेर चेकजाँच गर्न खोज्दा चालकले भिरेको रातो र पहेलो रंगको झोला फाली फरार भएको प्रहरीले बताएको छ ।
प्रहरीले झोलाबाट नेपाली १ हजार दरको ७ सय ६२ थान र ५ सय दरको १ हजार ६ सय ७६ थान गरी जम्मा नेपाली रूपैया १६ लाख फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
रकम फाली फरार रहेका चालक र मोटरसाइकलको खोजतलास र बरामद रकम सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाराबाट थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता मिश्रले बताउनुभयो ।