गोकुल घोरसाइने

 

निजगढ, १ भदौँ– बारामा दुई पक्षबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड हवाई फायर गर्नुपरेको छ ।

सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका बासिन्दाबीच पैनीको पानी थुनेर माछा मारेको निहुँमा शुरु भएको विवादमा उत्पन्न झडप प्रहरीले हवाइ फायर गरेर नियन्त्रणामा लिएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

 

झडपका क्रममा चार जना प्रहरी र १२ जना सर्वसारधण घाइते भएका छन । घाइतेहरुको अवस्था भने सामान्य छ । भगवानपुर गाउँका केहीले पैनी थुनेर माछा पारेपछि डुवानमा परेको भन्दै पटेर्वा गाउँका बासिन्दाले माछा मार्न आएका एक जनालाई हातपात गरेका थिए ।

उक्त घटनापछि भगवानपुरबाट ठुलो समुहमा आएका स्थानीयले पटेर्वाका अन्यमाथि पनि आक्रमण गर्न थालेपछि दुई गाउँलेबीच झडप परेको थियो । आफनो गाउँमा आएर आक्रमण गरेको भन्दै पटेर्वाबाट सयौं सर्वसाधारण प्रतिकारमा उत्रेका थिए । घटनास्थलकाे पैनी नजिक धान खेतमा भिडन्तको लागि दुबै पक्षका करिव ५ सय भन्दा बढी भेला भएका थिए ।

 

डीएसपी मिश्रकाअनुसार दुई गाउँलेबीच भएको आक्रमण र प्रतिकारको क्रममा केहीले स्थानीयको घरटहरासमेत भत्काउन शुरु गरेपछि स्थिति नियन्त्रणमा लिन जिल्लाबाट थप टोली परिचालन गरिएको थियो । शुरुमा ६ सेल अश्रु ग्यास प्रहार गर्दा पनि झडप नरोकिएपछि प्रहरीले १३ राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको डिएसपी मिश्रले बताउनुभयो । भिड तितरवितर पारेर स्थिति सामान्य भएपछि प्रहरी टोली फर्किएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here